मंगलवार , पौष १७, २०८०
रुपन्देही, १७ पुस ।
पूर्वराजा ज्ञानेन्द्र शाहले पश्चिम नवलपरासीको सरावलस्थित बर्दघाटे (कालिका) मन्दिरमा पूजाअर्चना गरेका छन्। सरावल गाउँपालिका–७ स्थित कालिका मन्दिरमा पुगेर पूर्वराजा शाहले मंगलबार दर्शन तथा पूजाअर्चना गरेका हुन् ।
उक्त अवसरमा उनका समर्थकहरुले स्वागत गरेका थिए । पूर्वराजा शाहको स्वागत अभिनन्दन मूल समारोह समितिले उक्त अवसरमा आयोजना गरेको कार्यक्रममा सहभागी भएका शाहलाई मूल समारोह समितिको तर्फबाट संयोजक सुधिर पाण्डे, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष, पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य ध्रुव बहादुर प्रधान, रामग्राम नगरपालिका उपप्रमुख सम्झना चौधरीलगायतले स्वागत गरेका थिए । पूर्वराजा शाहले कार्यक्रममा सम्बोधन भने गरेका थिएनन् ।
पूर्वमन्त्री प्रधानले पूर्वराजा शाहको आगमनले बर्दघाटे कालिका मन्दिरको पुनःस्थापना,संरक्षण र विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे । पूर्वराजा शाहलाई हेर्न बाक्लो उपस्थिति रहेको पत्रकार शम्भु पन्तले बताए।
समर्थकहरुले ‘राजा आउ देश बचाउ’ लगायतका नारा लगायतका थिए । भैरहवास्थित होटल सिद्धार्थ भिलासामा पूर्वराजा शाह बसेका छन् ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij