
आइतवार , माघ २५, २०७७
भैरहवा, २५ माघ ।
साहित्यकार युवराज शर्मा खनालद्वारा लिखित युवराजका कविता नामक कविता संग्रहको भैरहवामा शनिबार सम्पन्न एक कार्यक्रमकाबीच संयुक्त रुपमा विमोचन भएको छ ।
कार्यक्रमका अध्यक्ष एवं प्रश्रित प्रतिष्ठान नेपालका अध्यक्ष प्रा.डा. कपिलदेव लामिछानेले स्रष्टा खनालको यो पहिलो प्रयास सफल भएकोमा शुभकामना दिदै पहिलो प्रयास भए पनि धेरै त्रुटी नभएकाले आगामी दिनमा आउने कृति अझ बढी राम्रा हुने विचार व्यक्त गरे ।
विमोचन कार्यक्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि सहित्यकार ठाकुर चन्द्र शर्माले कविता संग्रहका स्रष्टा कवि युवराज शर्मा खनाललाई आफुले विद्यालयमापढाउँदाको समयमा पनि अध्ययनका साथै साहित्यिक कार्यक्रममा भाग लिने र पुरस्कृत हुने गरेको स्मरण गर्दै आफ्ना सृजनाहरु एकै ठाउँमा राखेर पुस्तक प्रकाशन गरेकोमा बधाई व्यक्त गरे ।
कार्यक्रमका अतिथि कथाकार वनमाली निराकारले स्रष्टा युवराज शर्मा खनालले ५० वर्षसम्म गुम्स्याएर राखेको निजी साहित्यिक सम्पत्तिलाई सार्वजनिक गरेकोमा बधाई व्यक्त गदै यस्ता साहित्यिक सम्पत्तिहरु अरु पनि सार्वजनिक गर्न शुभकामना दिए ।
स्रष्टा युवराज शर्मा खनालले आफुले सृजना गरेका कविता प्रकाशनमा ल्याउन हौसला प्रदान गर्नुहुने प्रश्रित प्रतिष्ठान नेपालका अध्यक्ष प्रा.डा. कपिलदेव लामिछाने र प्रकाशक प्रश्रित प्रतिष्ठान नेपाललाई धन्यवाद व्यक्त गर्दै आफुलाई हौसला प्रदान गर्ने साहित्यकार, कवि, गजलकार सबैलाई आगामी दिनमा पनि हौसला प्रदान हुने कुरामा विश्वस्त रहेको बताए ।
कार्यक्रममा साहित्यकार विजय सागर, शिक्षाविद् बालकृष्ण भट्टराई, डिल्लीराज भट्टराई, प्राज्ञ बुँद राना लगायतले शुभकामना साथै बधाई दिएका थिए । कविता संग्रहमा गद्य, लोक तथा पद्य गरी ६५ कविता रहेका छन् ।
साहित्यकार प्रा. डा. कपिलदेव लामिछानेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम प्रा. डा. गितु गिरीको स्वागत, डा.दामोदर ढकालको समिक्षा तथा कृष्ण प्रसाद बस्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij