
बुधवार , पौष १८, २०८०
भैरहवा, १८ पुस । रुपन्देहीमा सञ्चालित १९ वटा उद्योगहरुले विद्युत काटिएका उद्योगहरुको लाइन पुनः निशर्त जडान गर्न माग गरेका छन् । उद्योगीले थप उद्योगको लाइन नकाट्न माग गर्दै शुक्रबारसम्म लाईन काटिएका उद्योगको विद्युत लाईन जडान नगरिएमा १९ वटा उद्योग एकैसाथ कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।
बुधबार नेपाल विद्युत प्राधिकरण भैरहवा र नयाँमिल वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै यस्तो माग गरेका हुन् । बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित १९ वटा उद्योगहरुले नेपाल विद्युत प्राधिकरण भैरहवा तथा नयाँमिल वितरण केन्द्रले जबरजस्ती न्यायसम्मत नरहेको ट्रंकलाईनको छुट बिलिङ गरेकाले कानूनसम्मत नरहेको छुट बिलका विरुद्ध कानूनी बाटो अवलम्बन गरिएको उद्योगीको भनाइ छ । नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रले घराना फुड्स र सिद्धार्थ पेट प्लाष्टमा गत शुक्रबार राति लाइन काटेको थियो ।
सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले एक्कासी लाईन काटिएको बताए । उनले उद्योगमा लाईन काटिदा उद्योगीसँगै मजदूर बिचल्लीमा परेको बताए । उनले शुक्रबारसम्म लाइन नजोडिए उद्योग बन्द गरेर तालाचाबी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा पठाउने बताए।
विद्युत प्राधिकरणले उद्योगहरुमाथि दबाब सिर्जना गर्न विद्युत लाइन काट्न सुरु गरेको र भैरहवा वितरण केन्द्रले दुईवटा उद्योगको लाइन काटेकोप्रति बुटवल–भैरहवा औद्योगिक कोरिडोरमा सञ्चालित उद्योगीहरु त्रसित भएको ज्ञापनपत्रमा उल्लेख छ ।
‘प्राधिकरण भैरहवा वितरण केन्द्रले २०७४ चैत १४ मा आफ्नो आन्तरिक लोड भार मिलान गर्ने क्रममा हामी १३ वटा उद्योगहरुको कनेक्सन जडान भएदेखि नै लोडसेडिङ खेप्दै आएको औद्योगिक फिडर (भैरहवा पुरानो र न्यू २) बाट फिडर परिवर्तन गरी अमुवा भरवलिया प्रशारण ट्रंकलाईनमा वितरण केन्द्रको आफ्नै बाध्यताका कारणले सार्नुपरेको परिपेक्षयमा न्यायसम्मत नरहेको छुट बील २०७५ देखिको जारी गरिएको छ, ’ज्ञापनपत्रमा उल्लेख छ ।
त्यस्तै अन्य ६ उद्योगहरु भैरहवा पुरानो र न्यू २ फिडरबाट जडान भएदेखि हालसम्म निरन्तर यही फिडरबाट विद्युत आपूर्ति लिइरहेकोमा प्राधिकरणले आफैले १३ वटा उद्योगहरुको कबोल गरेको २०७४ चैतसम्म विद्युत आपूर्ति गर्न प्रयोग भएको भैरहवा पुरानो र न्यू फिडर ट्रंकलाइन नभएको यथार्थ र तथ्यलाई ओझेलमा पारी हचुवाको भरमा न्यायसम्मत नरहेको २०७२ भदौदेखिको छुट बील जारी गरिएको उद्योगीहरुको भनाइ छ ।
उद्योगी र प्राधिकरणबीचको विवाद उच्च अदालत तुलसीपुर बुटवल इजलासमा विचाराधिन रहेकै अवस्थामा लाईन काटिएको र अदालतको फैसला नआउञ्जेल उद्योगको विद्युत तत्कालै सुचारु गरी उद्योग सञ्चालन गर्ने वातावरण सिर्जना गर्नुपर्ने पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहुले बताए ।
उद्योगी विनय गोयनकाले नेपाल विद्युत प्राधिकरणले आफूहरुमाथि अन्याय गरेको गुनासो गरे । उनले विद्युत लाइन काटिएका उद्योगीहरुको पुनः निशर्त जडान गर्न र थप उद्योगको लाइन नकाट्न माग गरे । ‘२०८० पुस २० गते शुक्रबारसम्म लाईन काटिएका उद्योगको विद्युत लाईन जडान नगरिएमा हामी १९ वटै उद्योग एक साथ कडा आन्दोलनमा उत्रिन बाध्य हुनेछौं, ’उनले भने ।
ज्ञापनपत्र बुझ्दै नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख संजय कुमार मिश्रले उद्योगीको माग माथिल्लो निकायमा पठाउने र माथिल्लो निकायबाट आएको निर्देशन उद्योगीसमक्ष पुर्याउने बताए । उनले किस्तामा विद्युत महशुल तिर्न उद्योगी तयार भए निवेदन लिने भन्ने कुरा निर्देशन आएको बताए ।
त्यस्तै नेपाल विद्युत प्राधिकरण नयाँमिल वितरण केन्द्रका प्रमुख रितेश गुप्ताले सत्यतथ्य बुझेर प्राधिकरणका केन्द्रीय कार्यालयमा पठाउने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij