
बिहिवार , पौष १९, २०८०
भैरहवा, १९ पुस ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफू सदासदा नेपालीका साथमा रहेको बताएका छन् । उनले आफू अन्त कतै नगएको बताए । नागरिक अभिनन्दन समारोह मूल समिति–२०८० रुपन्देहीले बिहीबार भैरहवामा आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै शाहले यस्तो बताएका हुन् ।
उनले भने, ‘नेपालीहरुको सुख, दुःख, सुविधा, असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।’ पूर्वराजा शाहले आफू नेपालभित्रै रहेको बताए । उनले भने, ‘म बोलिरहेछु । देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुर्ख्यौली भावना पोखिरहेको छु । म कतै गएको छैन । ’
उनले बुद्ध जन्मेको देश, सगरमाथाको देश, सुन्दर, अति मनोरम, यतिका सम्पदा, कतिकति मूल्य मान्यता र सभ्यता भएर हामी कताकता हराइरहेको बताए।
देशमै उत्पादन उद्यम, इमल सीप, शिक्षा र सभ्यताको नयाँ अध्याय खडा गर्ने उनले बताए । तर के कस्तो विधि बदल्ने वा कसरी अगाडि बढ्ने भन्दै हामी आफैंले तय गर्नुपर्ने उनले बताए ।
देश जर्जर भएको र बेरोजगारी, शैक्षिक कमजोरीका कारण लाखौं युवाहरु विदेश जानुपरेको उनले बताए । देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर युवा जमात बाहिरिएको र यस्तो अवस्थाको अन्त्य हुनैपर्ने उनको भनाइ छ ।
समाज कानून र व्यवस्था बिना अस्तित्वमा रहनु नहुने उनले बताए । अहिले चलिरहेको चलनचल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्ने उनले बताए । आफू मात्र सही, आफू मात्र ठीक भन्न छाड्नुपर्ने भन्दै पूर्वराजा शाह भने, ‘आऊँ, हामी सबै एक ठाउँमा उभियौं ।’
विगतको सबै दुःख बिर्सिन र घृणाको आगो मिलेर निभाउन आग्रह गर्दै पूर्वराजा शाह भने, ‘अब भाँच्चिएको टुक्राहरु जोडिदेऊ । उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने ? पहिले अन्याय, अत्याचार मुक्त गरिदेऊ । अनुहार फेरी फेरी षड्यन्त्र नगर । त्यस्ता चालबाट आफूलाई बचाइदेऊ ।’
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij