
शुक्रवार , पौष २०, २०८०
भैरहवा, २० मंसिर ।
शुभ अवसर ग्राम नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा भारतबाट २८ जनाको उद्वार गरिएको छ । साउनदेखि पुस दोस्रो सातासम्म उद्वार गरिएकामध्ये १८ जना महिला र १० जना पुरुष रहेका छन् ।
संस्थाले किन इण्डिया, भारतको दिल्लीस्थित नेपाली राजदूतावास, बाल कल्याण समिति (एन्टी ह्युमन ट्राफिकिङ युनिट) लगायतसँगको समन्वयमा उद्वार गरेको जनाएको छ । भारतको नयाँ दिल्ली, लखनउ, बिहार, मुम्बईबाट २८ जनाको उद्वार गरिएको शुभ अवसर ग्राम नेपालका मानव बेचबिखन, असुरक्षित आप्रवासन तथा बालबालिकाको अनलाइन यौन शोषण रोकथाम परियोजना संयोजक सत्यनारायण यादवले बताए । उनका अनुसार उद्वार गरिएको व्यक्तिहरु सोलुखुम्बु, सिन्धुपाल्चोक, भोजपुर, भक्तपुर, दाङ, झापा, रौतहट, मोरङ, बाँके, रुपन्देही, महोत्तरी, बारा, पर्सा र कञ्चनपुरका छन् ।
विभिन्न बहानामा नेपालबाट भारतमा बेचबिखनमा परेका व्यक्तिहरुलाई उद्वार गरिएको हो । रोजगारीको प्रलोभन तथा बिभिन्न बहानामा ललाईफकाई नेपालीलाई भारतमा पुर्याएर बेचबिखन गरिएको पाइएको छ । विशेष गरी १४–१५ वर्ष देखि २२–२४ वर्ष उमेर समूहका व्यक्तिहरु बेचबिखनमा परेको उनले जानकारी दिए ।
मानव बेचबिखनको रोकथाम तथा नियन्त्रणका लागि संस्थाले विभिन्न कार्यक्रम गर्दै आएको यादवले बताए । अघिल्लो महिना भारतको लखनउमा प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम गरिएको उनले जानकारी दिए । बालबालिकासम्बन्धि क्षेत्रमा काम गर्ने संस्थाहरुसँग परिचयात्मक कार्यक्रम तथा समन्वय गर्दै आएको उनको भनाइ छ ।
पछिल्लो समय मोबाइल फोनको प्रयोगले बालबालिका बेचबिखनमा पर्ने गरेको पाइएकोले अभिभावकले बालबालिकालाई विशेष निगरानी गर्नुपर्ने बताए । उनले भने, ‘अनलाइन कक्षाको बहानामा बालिबालिकाले गर्ने सामाजिक संजालको प्रयोगले पनि समस्या निम्तिएको छ ।
बेचबिखनमा परेका बालबालिकालाई घरेल कामदारको रुपमा र डान्स (आर्केष्ट्रा) मा प्रयोग गरिएको पाइयो ।’ भारतमा बेचबिखनमा परेका व्यक्तिहरुको उद्वारमा भारतको दिल्लीस्थित नेपाली राजदूतावासको राम्रो सहयोग प्राप्त भएको उनको बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij