
आइतवार , पौष २२, २०८०
भैरहवा, २२ पुुस ।
भारतको देहरादुनमा डिसेम्बर १५ देखि १७ तारिखसम्म भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पीयनसीप-२०२३ प्रतियोगितामा स्वर्ण पदक जित्न सफल खेलाडी मोहम्मद रफिकलाई सम्मान गरिएको छ । खजहना युवा क्लब, रुपन्देहीले शनिबार भैरहवामा एक कार्यक्रमको आयोजना गरी रफिकलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको हो ।
उनलाई लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खान, खजहना युवा क्लबका अध्यक्ष मनोज प्रजापति (महाकाल) लगायतले सम्मान गरेका हुन् ।
सो अवसरमा बोल्दै मन्त्री पाण्डेयले खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गरेर नेपाललाई विश्वमै चिनाउने काम गर्न सफल भएको बताए । उनले कम स्रोतसाधनमा पनि नेपाली खेलाडीले आफ्नो खेल प्रदर्शनमार्फत नेपालको गरिमा बढाएको बताए । उनले भने, ‘नेपाली खेलाडीले स्वर्ण पदक जित्नुभएको छ । यो हाम्रो गौरवको कुरा हो ।’ प्रदेश सरकारले प्रदान गर्ने पदकबाट खेलाडी रफिकलाई सम्मान गरिने र खेलाडीलाई प्रदेश र स्थानीय सरकारले निरन्तर सहयोग गर्ने उनको भनाइ छ । मन्त्री पाण्डेयले प्रदेश सरकारले आफ्नो दायित्व निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले खेलाडीहरुलाई सम्मान गरेर मनोबल बढाउनुपर्नेमा जोड दिए ।
खजहना युवा क्लबका अध्यक्ष मनोज प्रजापति (महाकाल)ले खेलमा रुची राख्ने आफ्ना बालबालिकालाई अभिभावकले प्रोत्साहन गर्नुपर्ने बताए । उनले बालबालिकालाई ज्ञान दिनुपर्नेमा जोड दिए । अध्यक्ष प्रजापतिले कुनै पनि कार्यक्रम सफल बनाउन मिलेर अघि बढ्नुपर्ने बताए । विरेन्द्र कोहारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
बंगलादेशमा अक्टोबर १९ देखि २१ तारिखसम्म सम्पन्न ‘प्रथम बंगाबन्धु खुल्ला इन्टरनेशनल तेक्वान्दो च्याम्पीयनसीप–२०२३’ मा पनि उनले स्वर्ण पदक जित्न सफल भएका थिए ।
सिद्धार्थनगर नगरपालिका–३ दरखसवा निवासी २४ वर्षिय रफीक भैरहवा तेक्वान्दो क्लबका खेलाडी समेत हुन् । उनी सशस्त्र प्रहरी बलमा कार्यरत छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij