
आइतवार , पौष २२, २०८०
बुटवल, २२ पुस ।
जी–२५ क्लब बुटवल उपमहानगरपालिका–११, रुपन्देहीको छैठौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले क्लवको नयाँ नेतृत्व चयन गरेको छ । शनिबार सम्पन्न क्लबको साधारणसभा तथा अधिवेशनबाट जगदिश न्यौपाने अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष पदका लागि भएको निर्वाचनमा निकटतम प्रतिष्पर्धी सजन कुमार भारीलाई १ मतले पराजित गरी न्यौपाने अध्यक्षमा निर्वाचित भएका हुन् । न्यौपानेले २६ र भारीले २५ मत प्राप्त गरेका छन् ।
त्यस्तै क्लबको उपाध्यक्षमा मदन पौडेल निर्वाचित भएका छन् । पौडेलले आफ्ना प्रतिष्पर्धी निरज के.सी.लाई २ मतले पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले २५ र के.सी.ले २३ मत प्राप्त गरेका छन् ।
क्लबको महासचिवमा किशोर पंगेनी, कोषाध्यक्षमा भेषराज अर्याल र सचिवमा रेशम बहादुर महरा सर्वसम्मत निर्वाचित भएका छन् । त्यस्तै चार सदस्य पदका लागि ६ जनाबीच भएको प्रतिष्पर्धामा श्रीप्रसाद श्रेष्ठ, विमल पौडेल, मिलनकुमार भारी र देबेन्द्रबहादुर घर्ती निर्वाचित भएका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता केशवराज पोखरेलले जानकारी गराए ।
साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले सामाजिक कार्यमा क्रियाशिल जी–२५ क्लबले समाजमा गर्ने सामाजिक तथा रचनात्मक कार्यक्रमका लागि उपमहानगरपालिकाले सहयोग गर्ने बताए ।
सामाजिक क्षेत्रमा क्रियाशिल जी–२५ क्लबले केही समय अघि कपडा बैंकको स्थापना गरी बुटवलका उद्योगी, व्यवसायी तथा क्लबका सदस्यहरुसँग कपडा संकलन गरी करिब २ सय बढी गरीब तथा विपन्न वर्गका मानिसहरुलाई वितरण गरेको थियो ।
त्यस्तै क्लबले विभिन्न धार्मिक तथा साँस्कृतिक पर्वका अवसरमा ज्येष्ठ नागरिकलाई खिर खुवाउने तथा ग्लुकोज वितरण लगायतका सामाजिक कार्य गर्दै आइरहेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij