
बुधवार , पौष २५, २०८०
भैरहवा, २५ पुस ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीको नवौं स्थापना दिवसको अवसरमा आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगिताको उपाधि जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको टीमले जितेको छ । मंगलबार सिद्धार्थनगर नगरपालिका–१३ स्थित फुटसल मैदानमा सम्पन्न खेलमा प्रहरीको टीमले आयोजक लुम्बिनी प्रेस क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।
निर्धारित ३० मिनेटको खेलमा दुवै टीमले ३–३ गोलको बराबरी खेलेपछि निर्णयको लागि ५ मिनेट थपिएको थियो । थपिएको समयको चौथो मिनेटमा प्रहरीका सुभाष थारुले गोल गर्दै फुटसल उपाधि दिलाउन सफल भएका थिए ।
यसअघि खेल सुरु भएको १४ औं मिनेटमा प्रहरीका राजेश बस्नेतले आत्मघाती गोल गरेपछि पूर्बाद्र्धमा लुम्बिनी प्रेस क्लबले १–० गोलको अग्रता लिएको थियो । उत्तराद्र्धको २० औं मिनेटमा प्रेस क्लबका जयकेश हरिजनले गोल थप्दै २–० को अग्रता दिलाउन सफल भए । २५ औं मिनेटमा प्रहरीका सुभाष थारुले गोल गर्दै गोल अन्तर २–१ मा ल्याए ।
२६ औं मिनेटमा प्रेस क्लबका जयकेशले नै गोल थप्दै ३–१ को अग्रता दिलाए । खेल सकिन केही मिनेट बाँकी रहँदा प्रेस क्लबले धैर्यता गुमाउँदा प्रहरीले आकर्षक खेल पस्कियो । २८ औं मिनेटमा प्रहरीका सुभाष थारुले गोल गर्दै गोलअन्तरलाई ३–२ बनाए । २९ औं मिनेटमा प्रहरीका किशोर केसीले गोल गर्दै खेललाई बराबरीमा ल्याउन सफल भएका थिए । थपिएको अतिरिक्त समयमा प्रहरी टिम प्रेस क्लबमाथि हाबी भयो ।
फाइनल अघिका खेलहरुमा जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय, रुपन्देहीलाई ५–१ गोल अन्तरले पराजित गर्दै फाइनल पुगेको थियो । प्रहरीका लागि भरत बहादुर वि.क., किशोर केसी, राजेश बस्नेत, कौशल न्यौपाने र गोकुल कट्टेलले गोल गरेका थिए । प्रहरीका कप्तान समेत रहेका जिल्ला प्रहरी प्रमुख भरत वि.क.ले १ गोल आत्मघाती गर्दा जिल्ला प्रशासनको टीमलाई गोल उपहार भएको थियो ।
त्यस्तै, अर्को खेलमा लुम्बिनी प्रेस क्लबले सशस्त्र प्रहरी बल नम्बर २७ गण, रुपन्देहीलाई ५–३ गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको थियो । प्रेस क्लबका लागि दीपेन्द्र बडुवाल र जयकेश हरिजनले समान २–२ गोल गर्दा प्रकाश न्यौपानेले १ गोल गरेका थिए । सशस्त्रको टीमका लागि किशोर श्रेष्ठ, अस्विनी गुरुङ र देवराज मल्लले एक–एक गोल गरेका थिए ।
विजेता तथा उपविजेता टीमका खेलाडीहरुलाई रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी लगायतले ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी अर्यालले पुरस्कार वितरण गर्दे यस किसिमका कार्यक्रमले बन्धुत्व भावना विकास हुने र स्वास्थ्य पनि राम्रो हुने बताए ।
कार्यक्रममा क्लबका कार्यबाहक अध्यक्ष रायमाझी, फुटसल प्रतियोगितामा सहभागी टीमका तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्याल, रुपन्देही प्रहरी प्रमुख भरत बहादुर वि.क., सशस्त्र प्रहरी प्रमुख दीपक कुमार थापाले बोल्दै सुरक्षा निकाय, निजामती कर्मचारी र पत्रकारहरुबीच भएको खेलले एकआपसमा भाइचाराको विकाससँगै मनोरञ्जन प्रदान हुने र स्वास्थ्यका लागि फाइदा पुग्ने जनाए ।
प्रेस क्लबका कार्यबाहक अध्यक्ष रायमाझीको अध्यक्षता, कार्यक्रम संयोजक प्रकाश न्यौपानेको स्वागत मन्तव्य तथा सल्लाहकार मनोरञ्जन शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो । प्रेस क्लब आफ्नो स्थापना दिवसको अवसरमा फुटसलसँगै भैरहवा–लुम्बिनी बौद्ध सञ्चार यात्रा र कर्पोरेट क्रिकेट प्रतियोगिता सम्पन्न गरिसकेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij