२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमा वार्षिक खेलकुद महोत्सव सुरु

बुधवार , पौष २५, २०८०

बुटवल, २५ पुस । 
सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमा मंगलबारदेखि वार्षिक खेलकुद महोत्सव सुरु भएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ डिंगरनगरमा अवस्थित विद्यालयमा तीन दिनसम्म हुने महोत्सवमा विभिन्न ३७ वटा ईभेन्टमा ३ सय बढी विद्यार्थीले प्रतिष्पर्धा गर्ने भएका छन् ।

विद्यालयका खेलकूद इञ्चार्ज मेघराज भट्टराईका अनुसार कक्षा नर्सरीदेखि ९ सम्मका विद्यार्थीलाई विभिन्न ५ समूहमा विभाजन गरी प्रतिष्पर्धा गराइने छ । कक्षा नर्सरी र युकेजीका विद्यार्थीबीच बेलुन स्टम्प र स्वीट रेश गरी दुई इभेन्टमा प्रतिष्पर्धा हुनेछ ।

त्यसै गरी कक्षा १ देखि ३ सम्मका छात्रा तथा छात्राबीच म्याथ रेस, छात्रहरुको ५० मिटर दौड, एक खुट्टे दौड र जुत्ता दौड हुनेछ भने छात्राहरुका लागि प्लेट रेस र चम्चा दौड हुने विद्यालयका खेल इञ्चार्ज भट्टराईले जानकारी दिए । त्यसै गरी कक्षा ४ र ५ का विद्यार्थीले विभिन्न ९ वटा इभेन्टमा प्रतिष्पर्धा गर्नेछन् । उनीहरुले म्याथ रेस, सय मिटर र २ सय मिटर दौड, पिजी ब्याग, प्लेट रेस, स्याक रेस, स्पोन रेस, म्युजिकल चियर तथा सय मिटरको रिले दौडमा प्रतिष्पर्धा गर्नेछन् ।

विद्यालयको प्रांगणमा विभिन्न साँस्कृतिक प्रस्तुतीहरुसँगै हुने खेल महोत्सवमा कक्षा ६ र ७ का लागि म्याथ रेस, सय र २ सय मिटर दौड, पिजी ब्याग, प्लेट रेस, स्याक रेस, स्पोन रेस, म्युजिकल चियर तथा १ सय मिटर रिले दौड प्रतियोगिता आयोजना गरिएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख शंकर पौडेलले जानकारी दिए ।

त्यसै गरी सिनियरतर्फ कक्षा ८ र ९ का विद्यार्थीबीच रसी तान, क्रसकन्ट्री, लङ जम्प, ज्याभलिन थ्रो, सटपुट, सय मिटर रिले दौड, म्युजिकल चियर तथा विभिन्न प्रकारका दौड प्रतियोगिता गरी ११ वटा इभेन्टमा प्रतिष्पर्धा हुने पौडेलले जानकारी दिए ।

खेल महोत्सवको पहिलो दिन विद्यार्थीले मार्चपास र ओलम्पिक मसालसहित विद्यालय प्रांगणको परिक्रमा गरेका थिए । सो अवसरमा बोल्दै विद्यालयका प्राचार्य यमबहादुर रानाले विद्यार्थीको सर्वाङ्गिर्ण विकासका लागि खेलकुदको महत्वपूर्ण भूमिका रहने उल्लेख गरे ।

त्यसै गरी विद्यालयका प्रबन्ध निर्देशक बाबुराम खनाल, सह–प्राचार्य रमेश प्रसाद बस्याल, रजनिशचन्द्र गुप्ता लगायतले बोल्दै सिद्धार्थ बोर्डिङले सैद्वान्तिकसँगै व्यवहारिक शिक्षामा जोड दिएका कारण खेलकुदमा महत्वका साथ लिने गरेको उल्लेख गरे । प्रतियोगिता विद्यार्थीले १०७ स्वर्ण, १०७ रजत तथा १०७ कास्य गरी कूल ३२१ पदकका लागि प्रतिष्पर्धा गर्नेछन् । विद्यालयमा हाल २ हजार बढी विद्यार्थी अध्ययनरत छन् ।