
बुधवार , पौष २५, २०८०
भैरहवा, २५ पुस ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लायन्स क्लब अफ भैरहवा लिगेसीले वृहत सचेतना अभियान सञ्चालन गरेको छ । क्लबले जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीको सहकार्यमा मंगलबार भैरहवामा साईकल र ट्याक्टरमा रिफ्लेक्टर स्टीकर टाँसेको छ ।
भैरहवा–लुम्बिनी सडकखण्ड अन्तर्गत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि बिहान सडकमा गुडिरहेका साईकल र ट्याक्टर गरी पाँचसय वटा बढी सवारीसाधनमा स्टीकर टाँसिएको कार्यक्रम संयोजक हृदयराम गुप्ताले बताए । उनले बिहीबार भैरहवा–परासी सडकखण्ड अन्तर्गत ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा रिफ्लेक्टर स्टीकर टाँस अभियान सञ्चालन हुने जानकारी दिए ।
लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४५ औं जन्मोत्सवको अवसरमा ‘मेल्भिन जोन्स सर्भिस वीक’ अन्तर्गत कार्यक्रम गरिएको लायन्स भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताए । ‘जाडो मौसममा बाक्लो हुस्सुका कारण विशेष गरी साईकल र ट्याक्टरमा स्टीकर नहुँदा टाढाबाट देखिदैन, जसले सवारी दुर्घटना हुने गरेको छ । यही कुरालाई मध्यनजर गर्दै यो अभियान सञ्चालन गरेका हौं, ’उपाध्यायले भने ।
कार्यक्रमको उद्घाटन गर्दै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपालका डिष्ट्रिक गभर्नर अर्जुनमान सैंजुले लायन्स भैरहवा लिगेसीले भिन्न किसिमको कार्यक्रम सञ्चालन गरेको बताए । उनले शितलहरको बेला सवारी दुर्घटनाको संख्या बढ्ने कुरालाई मध्यनजर गर्दै आयोजना गरिएको कार्यक्रम सराहनीय रहेको बताए ।
त्यस्तै लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पी, नेपाल एरिया–५ का एरिया चिफ सतिस कुमार कौसल (दीपक) ले लायन्स भैरहवा लिगेसीले महत्वपूर्ण कार्यक्रम गरेको बताए । उनले रिफ्लेक्टर स्टीकर टास्ने अभियानले पक्कै पनि दुर्घटना न्यूनीकरण गर्ने बताए ।
लायन्स भैरहवा लिगेसीका सचिव नारायण प्रसाद कोइरालाको सञ्चालनमा सम्पन्न कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्ट, वडा प्रहरी कार्यालय भैरहवाका प्रमुख प्रहरी निरीक्षक सुरज खड्का, सिद्धार्थनगर नगरपालिका–४ का वडाअध्यक्ष मुक्तिनाथ यादव (भोला), वडा सदस्य हरि बहादुर के.सी., लायन्स जोन चेयरपर्सन गोविन्द प्रसाद गिरी, लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीका अध्यक्ष मनोज क्षेत्रीलगायतको आतिथ्यता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij