२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

बुटवलमा पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको तयारी सुरु

बिहिवार , पौष २६, २०८०

बुटवल, २६ पुस ।  
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८० को तयारीलाई तीव्रता दिएको छ । माघ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता सम्पन गर्नको लागि विभिन समितिहरु गठन गरेर तयारीलाई तीव्रता दिएको हो । 

नगर खेलकुद विकास समितिका अध्यक्ष बोनिन पियाँको संयोजकत्वमा हुने प्रतियोगितामा १० वटा विधागत समिति गठन गरेर तयारीलाई तीव्र पारिएको हो । 

बुटवल उपमहानगरपालिकामा बिहिबार बसेको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन समितिको बैठकमा अध्यक्ष पियाँले ३ दिनसम्म सञ्चालन हुने प्रतियोगितलाई भव्य रुपमा सम्पन्न गर्नको लागि १० वटा समिति गठन गरिएको र आफ्नो जिम्मेवारी अनुसार काम गर्नको लागि आग्रह गरे । प्रतियोगितामा २० वटा सामूदायिक र  २२ वटा निजी गरी ४२ वटा विद्यालयले भाग लिने उनले जानकारी दिए । प्रतियोगितामा १७ विधाका ५४ खेलमा ३५० जना विद्यार्थीले भाग लिने अध्यक्ष पियाँले बताए । प्रतियोगितामा १८ वर्ष भन्दा मुनिका विद्यार्थीले भाग लिन पाउने र खेलाडीहरुको बीमाको समेत व्यवस्था गरिएको उनले जानकारी दिए ।

नगर उपप्रमुख सावित्रादेवी अर्यालले पाँचौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता अनुशासन तरिकाले सञ्चालन गर्नका लागि निर्देशन दिइन् । विद्यार्थीले आफ्नो प्रतिभा प्रस्फुटन गर्नको लागि प्रतियोगिता अवसर रहेको बताउँदै प्रतियोगितालाई नियमसंगत अनुशासन ढंगले सञ्चालन हुनुपर्नेमा उनले जोड दिइन् ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले रनिङ्ग शिल्ड सञ्चालनको लागि नगरले २० लाख र केन्द्र सरकारबाट १ लाख गरी २१ लाख बजेट छुट्टाएको जानकारी दिए ।  विद्यार्थीमा भएका प्रतिभा प्रस्फुटनमा प्रतियोगिताले सहयोग मिल्नेमा उनले विश्वास व्यक्त गरे ।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितले प्रतियोगिताले विद्यार्थीको प्रतिभा प्रस्फुटनसँगै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा मद्दत पुग्ने बताए । 

प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक विजेतालाई क्रमशः २५ हजार , १७ हजार र १० हजार नगदसहित पुरस्कार प्रदान गरिने नगर खेलकुद विकास समितिका सचिव प्रेम बस्नेतले जानकारी दिए । 

त्यस्तै प्रतियोगिताको उद्घाटनमा मार्चपाससहितको र्यालीको मूल्यांकनको अधारमा  प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १० हजार ५ हजार र २ हजार ५ सय पुरस्कार प्रदान गरिने उनले बताए । 

रनिङ्ग शिल्ड प्रतियोगितामा भलिबल, कबडी, एथलेटिक्स, उसु, रिले, तेक्वान्दो, कराँते सञ्चालन हुने सचिव बस्नेतले बताए । त्यस्तै बैठकमा बुटवल उपमहानगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष हरि प्रसाद श्रेष्ठ, प्रतियोगिताका सह–संयोजक लालहरि पाण्डेय, खेलकुद शाखा अधिकृत  कोपिला ज्ञवाली लगायतले बोलेका थिए । गत वर्षको रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि कालिका मानवज्ञान माविले प्राप्त गरेको थियो ।