
शुक्रवार , पौष २७, २०८०
भैरहवा, २७ पुस ।
सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले लायन्स क्लब अफ भैरहवा लिगेसीले वृहत सचेतनामूलक अभियान अन्तर्गत साईकल र ट्याक्टर पछाडि ‘रिफ्लेक्टर स्टीकर’ टाँस्ने कार्यक्रम सञ्चालन गरेको छ ।
क्लबले जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा बुधबार भैरहवा लुम्बिनी–सडकखण्ड अन्तर्गत सिद्धार्थनगर नगरपालिका–४ स्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि र बिहीबार भैरहवा–परासी सडकखण्ड अन्तर्गत ओमसतिया गाउँपालिका–४ स्थित बसन्तपुरमा उक्त कार्यक्रम गरेको हो ।
लायन्स अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको १४५ औं जन्मोत्सवको अवसर पारेर ‘मेल्भिन जोन्स सर्भिस वीक’ अन्तर्गत कार्यक्रम राखिएको लायन्स भैरहवा लिगेसीका संस्थापक अध्यक्ष रविकान्त उपाध्यायले बताए । उनले दुई दिनमा सडकमा गुडिरहेका साईकल, ट्याक्टर र अटोरिक्सामा गरी २ हजार सवारीसाधनमा रिफ्लेक्टर स्टीकर टाँसिएको बताए । उनले भने, ‘विशेष गरी जाडो मौसममा साईकल र ट्याक्टर टाढाबाट देखिदैन, जसका कारण दुर्घटना हुने सम्भावना हुन्छ । दुर्घटना नहोस् भन्ने उद्देश्यले यो कार्यक्रम सञ्चालन गरेका छौं । यसले साईकल र ट्याक्टर चालकलाई पनि रिफ्लेक्टर स्टीकर टाँस्नुपर्छ भन्ने कुरामा सचेत गराएको विश्वास गरेका छौं । ’
कार्यक्रम संयोजक तथा लायन्स भैरहवा लिगेसीका सदस्य हृदयराम गुप्ताले यो कार्यक्रमले सवारी दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउनेमा विश्वस्त रहेको बताए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर सिंह बिष्टले बिहान–साँझपख स्टीकर टल्किएर टाढैबाट चालकलाई साईकल र ट्याक्टर हेर्न सहज होस् र हुन सक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्ने रिफ्लेक्टर स्टीकर टाँस कार्यक्रमको उद्देश्यले रहेको बताए । उनले लायन्स क्लब अफ भैरहवा लिगेसी र जिल्ला ट्राफिक प्रहरी कार्यालयले संयुक्त रुपमा सञ्चालन गरेको यो कार्यक्रममा सवारीचालकहरुलाई सचेत समेत गराइएको बताए । सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको प्रहरी निरीक्षक बिष्टले बताए ।
रुपन्देहीको ओमसतिया गाउँपालिका–५ पट्खौलीका संजय कुर्मी चौधरीले लायन्स भैरहवा लिगेसीले अत्यन्तै राम्रो काम गरेको बताए । उनले विशेष गरी रातको समयमा साईकल र ट्याक्टर टाढाबाट नदेखिने र जसका कारण दुर्घटना हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै रिफ्लेक्टर स्टीकर टाँस्नु राम्रो कार्यक्रम भएको बताए ।
विमानस्थल अगाडि गरिएको कार्यक्रममा वडा प्रहरी कार्यालय भैरहवा, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ का जनप्रतिनिधि तथा बसन्तपुरमा गरिएको कार्यक्रममा ईलाका प्रहरी कार्यालयको सहभागीता रहेको थियो ।
बसन्तपुरमा अटोरिक्सामा पनि रिफ्लेक्टर स्टीकर टाँसिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij