
शुक्रवार , पौष २७, २०८०
रुपन्देही, २७ पुस ।
रुपन्देहीको बुटवलस्थित एक पेट्रोल पम्पको डिजेल मेसिनमा गुणस्तर तथा नापतौल कार्यालय बुटवलका कार्यालय प्रमुखले मापन नमिलाई शिलबन्दी गरेर दुःख दिएको व्यवसायीले गुनासो गरेका छन् ।
बुटवल उपमहानगरपालिका–५ नेपालगन्ज रोडस्थित शाह डिजल सेन्टरको एक डिजेल मेसिनमा नापतौलको परिमाणमा घटबढ हुँदाहुँदै मापन नमिलाई जबरजस्ती शिलबन्दी गरी दुःख दिने नियत देखाएको पम्प सञ्चालक मदनलाल गुप्ताले आरोप लगाएका छन् ।
दुई महिना अघि बिग्रेको डिजेल पम्पको मदरबोर्ड परिवर्तन गरी नयाँ मदरबोर्ड राखेपछि सही परिमाण सुनिश्चित नगरी व्यवसायमा असर पर्ने गरी मनोमानी ढंगले शिलबन्दी गरेर दुःख दिएको गुप्ताले बताए । पम्पको नयाँ मदरबोर्ड चेकजाँच र शिलबन्दी गर्ने काम सम्बन्धित कार्यालयका प्राविधिकले नगरी हचुवाको भरमा कार्यालय प्रमुखकै उपस्थितिमा उनका चालकले गरेको गुप्ताको गुनासो छ ।
सञ्चालक गुप्ताले भने, ‘हचुवाको भरमा चेकजाँच गरे अनि हचुवाकै भरमा शिलबन्दी गरे जसले गर्दा हामीलाई मर्का परेको छ । व्यवसायीलाई प्रतिलिटर ५ मिलिलिटर नोक्सान हुने गरी भएको मदरबोर्ड सेटिङ्गलाई समायोजन गरी एकुरेट नगरी जबरजस्ती शिलबन्दी गरिएको छ ।’ यसमा नियत माथि खोट देखिएको सञ्चालक गुप्ताको भनाइ छ ।
त्यसै गरी सोही फर्मको नाममा रहेको लु १ क ५४७८ नम्बरको टंयाकर सञ्चालनमा पनि रोक लगाइएको भन्दै सञ्चालक गुप्ताले चिन्ता ब्यक्त गरेका छन् । पुस १८ गते क्यालिब्रेसन गरेर राजस्व बुझाए पनि सरकारी निकायकै कारण ढिलाइ गरेर २५ गतेसम्म क्यालिब्रेसन चार्ट उपलब्ध नगराएर ढुवानी गर्न नपाउँदा थप मारमा परेको गुप्ताले बताए ।
गुणस्तर तथा नापतौल कार्यालयका प्रमुख तिलक केसीले भने नयाँ मदरबोर्ड फेर्ने क्रममा सही तरिकाले नापतौल मिलान नभएको देखिएकोले मर्मतका लागि एक हप्ताको समय दिइएको दावी गरे । ‘मापन मिलाउन निर्देशन गरेका हौं अरु केही होइन, ’प्रमुख केसीले भने ।
तर पम्प व्यवसायीलाई प्रति ५ लिटरमा ४५ मिलिलिटरसम्म नोक्सान हुने गरी नयाँ मदरबोर्डमा शिलबन्दी गरिनुले कार्यालयको नियतमाथि आशंका गर्ने ठाउँ रहेको पेट्रोलियम व्यवसायीको दावी छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij