२०८२, श्रावण २८ गते

Aug 13 2025 | २०८२, श्रावण २८ गते

टोखाका चाकु उद्यमीलाई माग धान्न भ्याइ नभ्याई

शनिवार , पौष २८, २०८०

काठमाडौं, २८ पौष । माघे संक्रान्तिका लागि टोखाका चाकु उद्यमीलाई चाकु बनाउन भ्याइभ्याइ छ । माघे संक्रान्तिमा चाकु खाने प्रचलन रहेकाले माघे संक्रान्तिमा चाकुको खपत पनि बढी हुन्छ । माघे संक्रान्तिमा खपत हुने चाकुको माग धान्नको लागि चाकु बनाउन भ्याइनभ्याइ भएको टोखाका चाकु उद्यमीहरुले बताएका छन् ।

काठमाडौंको टोखामा अहिले १५ भन्दा बढी चाकु उद्योग सञ्चालनमा रहेको उद्यमीहरुले बताए । सख्खरलाई पकाएर राम्रोसँग फिटेपछि निर्माण हुने चाकु माघे संक्रान्तिमा खानैपर्ने परिकारको रुपमा प्रख्यात छ । त्यही परिकार बनाउन अहिले टोखाका चाकु उद्यमीहरुलाई चटारो रहेको छ । उनीहरुले अन्य समयमा पनि चाकु बनाउने गरेको तर माघे संक्रान्तीमा बढी माग हुने गरेको बताए ।

चाकु उद्यमीहरुले व्यापारीक प्रयोगको लागि भन्दा पनि पछिल्लो समय अमेरिका, युरोप,अष्ट्रेलिया र चीन लगायत देशमा समेत जाने गरेको बताए । व्यवसायीहरुले विगतका वर्षको जस्तो चाकुको मूल्य नबढाएको बताए । टोखा चाकु संरक्षणका उपाध्यक्ष बुद्ध श्रेष्ठले टोखामा बनेको चाकु अमेरिका युरोप,अष्ट्रेलिया र चीन लगायत नेपालीहरु बसोवास गर्ने देशमा जाने गरेको बताए । उनले माघे संक्रान्तिमा चाकुको माग बढी हुने भएकाले सिमित उद्यमीहरु भएकाले भ्याइनभ्याई रहेको बताए ।

उनले चाकु परम्परागत रुपमा नै बनाउने भएपनि पछिल्लो समय आधुनिक मेसिनको पनि प्रयोग हुन थालेको बताए । उनले चाकुको गुणस्तर मापदण्ड सबै पूरा गर्न नसक्दा विदेशमा निर्यात गर्न समस्या भइरहेको बताए । उनले सिमित चाकु उद्यमीहरु भएकाले आम्दानी भन्दा पनि माघे संक्रान्तिमा जनतालाई सहज मूल्यमा पाउने गरी व्यापार गरिरहेको बताए ।

उनले भने,‘चाकु परम्परागत रुपमा नै बनाउने हो । तर केही वर्षदेखि आधुनिक मेसिनको प्रयोग गरेर पनि बनाउन थालिएको छ । ७५ प्रतिशत चाकु परम्परागत बाँकी आधुनिक मेसिनबाट बनाउने गरिन्छ । चाहेको जस्तो कच्चा पदार्थ हामीले पाएका छैनौं । चाकु बनाउदा गुणस्तर चाकु प्रयोग गर्ने कोशिस गरिहेका छौं । विश्व बजारसम्म लैजाने हिसावले गुणस्तर कायम गर्न खाजेका छौं । टोखामा बनेको चाकु अमेरिका युरोप,अष्ट्रेलिया र चीन लगायत नेपालीहरु बसोवास गर्ने देशमा निर्यात हुने गरेको छ । चिनारीको लागि लगिएको छ । तर गुणस्तरको कारण बजारमा बेचबिखनको लागि निर्यात गर्न सकिएको छैन । पैसाको लागि भन्दा पनि जनताको सुविधाको लागि काम गरिहेका छौं ।’

टोखाकै चाकु उद्यमी सन्तमाया श्रेष्ठले माघे संक्रान्तिको लागि आवश्यक चाकु बनाउन भ्याइनभ्याई रहेको बताइन् । उनले माघे संक्रान्तिको लागि चाकु बनाउन लागेको डेढ महिना भएपनि माग बढी हुँदा चाकु बनाउन चटारो रहेको बताइन् । उनले विगतका वर्षहरु भन्दा यो वर्ष चाकुको व्यापार राम्रो रहेको बताइन् । उनले अन्य समयमा मागअनुसार चाकु बनाइने बताइन् । अहिले मासंक्रान्तिको लागि नियमित बनाउने गरिएको उल्लेख गरिन् ।

त्यस्तै, अर्का चाकु उद्यमी कृष्णलाल श्रेष्ठले चाकुको काम गरेको चार पुस्ता भएको बताए । उनले चाकु बनाएर बेच्नलाई भ्याइनभ्याई रहेको बताए । उनले टोखाका चाकु उद्यमीहरुले बनाएको चाकु बिक्री नभएको भन्ने अहिलेसम्म नभएको बताए । उनले चाकु अमेरिका र अस्ट्रेलिया समेत जाने गरेको बताए । उनले काठमाडौं,भक्तपुर र ललितपुरमा नै धेरै चाकु खपत हुने बताए । उनले चाकु महिलाहरु सुत्केरी भएको अवस्थामा खादा पनि दुग्ध आउने र न्यानो हुने भएकाले बढी बिक्री हुने गरेको बताए । 

माघ १ गते मनाइने पर्वमा घिउ र चाकुको परिकार निकै महत्वपूर्ण मानिन्छ । चाकु खासगरी जाडो महिनामा खाने प्रचलन छ । जाडो महिनामा चाकु खाँदा शरीर तात्ने भएकाले पनि पुस लागेदेखि नै चाकुको माग बढ्ने गर्छ ।