२०८२, आषाढ ३० गते

Jul 14 2025 | २०८२, आषाढ ३० गते

सियारीको १४ औं अधिवेशन शुरु, लिजा र एफआरएमा उत्कृष्ट

सोमवार , माघ १, २०८०

भैरहवा, १ माघ । 
सियारी गाउँपालिका, रुपन्देहीको गाउँसभाको  १४ औं अधिवेशन सुरु भएको छ । आइतबार सुरु भएको अधिवेशनको पहिलो बैठकमा गाउँपालिका अध्यक्ष थानेश्वर घिमिरेले चालु आर्थिक वर्षको अर्धवार्षिक समीक्षा पेश गरेका छन् । 

अर्धवार्षिक समिक्षा पेश गर्दै अध्यक्ष घिमिरेले सियारीलाई कृषि, पर्यटन र दीगो पूर्वाधारमा योजनाबद्ध रुपमा विकास गर्दै लैजाने बताए । अध्यक्ष घिमिरेले सियारी गाउँपालिकाले वित्तीय जोखिम मूल्यांकन (एफआरए) मा रुपन्देहीमा उत्कृष्ट कार्य गरेको बताए । पालिकाले एफआरएमा ७५ दशमलम ५ प्रतिशत अंक ल्याएको छ । 

त्यस्तै स्थानीय तह स्वमुल्याङकन (लिजा) मा ८८ दशमलव ५ प्रतिशत ल्याएर रुपन्देहीका गाउँपालिकामा पहिलो बनेको गाउँपालिका अध्यक्ष घिमिरेले जानकारी दिए । उनले सियारी गाउँपालिकाको सम्पूर्ण राजस्व संकलनको कार्य सुत्रमार्फत हुने गरेको बताए । यसले राजस्व चुहावटबाट हुन सक्ने वित्तीय जोखिम पनि कम हुँदै गएको बताए । 

IMG_1688.JPG

सियारी गाउँपालिकाले चालु आर्थिक वर्षमा सम्झौता भएका ३९ वटा योजनामध्ये कार्तिकसम्म ३० वटा योजना सम्पन्न भइसकेको अध्यक्ष घिमिरेले जानकारी दिए । अध्यक्ष घिमिरेले बाँकी रहेका योजनाको काम सम्पन्न गर्न सम्बन्धित सरोकारवालाई सबैलाई निर्देशन दिएका छन् । 

सियारीमा कृषि, पर्यटन र सिचाईका क्षेत्रमा उल्लेख्य मात्रामा काम भइरहेको बताउँदै अध्यक्ष घिमिरेले कृषि क्षेत्रको विकासका लागि आवश्यक बजेटको प्रबन्ध मिलाएर अगाडि बढ्ने बताए । 

गाउँपालिका उपाध्यक्ष तारा थारुले सियारी गाउँपालिकाले न्यायिक क्षेत्रमा गरेका कामको विषयमा सभामा प्रस्तुत गरेकी थिइन् । उपाध्यक्ष थारुले सियारीले लामो समयदेखि अल्झीएका विवादलाई पनि न्यायीक समितिबाट निरुपण गरिएको बताइन् । 

अधिवेशनको पहिलो बैठकमा सियारी गाउँसभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत ऋषिराम पन्थीले सञ्चालन गरेका थिए । गाउँसभाको अर्को बैठक सूचना प्रकाशित भएपछि बस्ने गरी स्थगित भएको छ ।