२०८३, आश्विन १६ गते

Oct 02 2026 | २०८३, आश्विन १६ गते

विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गरौँ : उपप्रमुख डंगोल

मंगलवार , माघ २, २०८०

  • 805
    Shares
  • 805
    Shares
  • काठमाडौं,२ माघ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्सँग जुध्ने संरचनाको निर्माण गर्नुपर्ने बताइन्। 

    मंगलवार महानगरपालिकाले भूकम्प दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताइन्। उनले धेरै मानिसहरुको संख्या विद्यालयमा हुने भएकाले विद्यालय पुनःनिर्माणको काम थाल्नुपर्ने जरुरी भइसकेको बताइन्। उनले विद्यालयको पुनःनिर्माणका लागि स्थानीय सरकारको श्रोत, साधनले मात्रै नपुग्ने भएकाले प्रदेश र केन्द्र सरकारले आवश्यक चासो दिनुपर्ने बताइन्। उनले भूकम्प लगायतका विपद्मा स्थानीय प्रविधि प्रयोग गर्नुपर्ने पनि बताइन्। उनले आगामी दिनमा विपद्बाट जोगिनका लागि संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्ने बताइन्।

    उनले भनिन्, ‘भूकम्पबाट हाम्रो देश धेरै नै जोखिममा छ। हाम्रो देश भूकम्पको जोखिममा विश्वमा ११ औं नम्बरमा पर्छ। त्यो भनेको नेपालमा कुनैपनि बेला भूकम्प आउन सक्छ। त्यसका लागि महत्वपूर्ण पाटो सबै सधैँ तयार हुनुपर्छ। पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको छ ।

    आगामी दिनमा भूकम्पबाट जोगिन र भूकम्पमात्रै नभइ विभिन्न विपद्बाट जोगिनका लागि हामीले संघ, प्रदेश र स्थानीय सरकार मिलेर अघि बढ्नुपर्छ। भूकम्प लगायतका विपद्मा हामीले हाम्रो स्थानीय प्रविधि प्रयोग गर्नसक्ने क्षमता छ, त्यो प्रयोग गरौँ। त्यसको अध्ययन अनुसन्धान गर्नुपर्छ। विद्यालयको पुनःनिर्माण गर्ने काम थाल्नुपर्ने जरुरी छ, त्यसको लागि स्थानीय सरकारको श्रोतले मात्रै नपुग्न सक्छ। सबैले मिलेर काम गर्न आवश्यक छ। विद्यालयलाई पहिलो प्राथमिकतामा राखेर विपद्बाट जुध्न थेग्ने संरचना निर्माण गरौँ।’

    उपप्रमुख डंगोलले नेपाल भूकम्पको जोखिममा विश्वमा ११ औं नम्बरमा पर्ने भएकाले कुनैपनि बेला भूकम्प आउनसक्ने अवस्थालाई मध्यनजर गरी विपद् पूर्वतयारी गर्नुपर्ने बताइन्। पूर्वतयारीलाई काठमाडौं महानगरले प्राथमिकतामा राखेको बताइन्।