
मंगलवार , माघ २, २०८०
काठमाडौं, २ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्युनिकरणका उपाय अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
मंगलवार सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायातामन्त्री प्रकाश ज्वालालाई भेटेर राष्ट्रिय स्वतन्त्र पार्टी सांसद तथा नेताहरुले सवारी दुर्घटना न्युनिकरणका उपाय अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उनीहरुले ज्ञापन पत्र बुझाउँदै पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले दुर्घटनाबाट हुने मानवीय क्षति सरकारलाई सामान्य लाग्न थालिसकेको हो ? भन्दै मन्त्री ज्वालासँग प्रश्न गरीन्। उनले यस वर्षको मंसिर महिनासम्म देशभर साना ठूला गरेर करिव १० हजार सात सय ४५ दुर्घटना भएको प्रहरीको तथ्यांक रहेको बताइन्।
उनले यी दुर्घटनामा ९१६ जनाले ज्यान गुमाएका र २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका प्रहरीको तथ्यांक रहेको बताइन। नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु गरेको तथ्यांक आफूले पाएको पनि बताइन्।
उनले भनिन्, ‘नियमित जस्तो सवारी दुर्घटना भइरहन्छन्। हामीलाई कताकता दुर्घटनाबाट हुने मानवीय क्षति सामान्य लाग्न थालिसकेको पो हो की ? यो वर्षको मंसिरसम्म मात्र देशभर साना ठूला गरेर करिव १० हजार सात सय ४५ दुर्घटना भएका छन्। जसमा ९१६ जनाले ज्यान गुमाएका छन्। २ हजार ७९१ जना गम्भीर र ११ हजार ९१ जना सामान्य घाइते भएका छन् । नेपाल प्रहरीकाअनुसार दैनिक ५४ वटा दुर्घटना र त्यसमा ६ जनाको मृत्यु हुन्छ।’
ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री ज्वालाले सवारी दुर्घटनाको विषयलाई लिएर सरकार गम्भीर रहेको बताए। उनले सरकारले समस्याको समाधान गर्नेगरी काम गरिरहेको बताए। उनले घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर सरकार जान नसक्ने बताए। उनले सडकलाई खाल्डाखुल्डी रहीत बनाएर, सडक सुधारका कामलाई तिब्रता दिएर र सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गर्ने तथा चालकलाई प्रशिक्षण दिने काम गरेर पनि सवारी साधन दुर्घटनाको समस्या समाधान गर्ने पहल गरिरहेको बताए।
उनले भने, ‘हामी यसमा गम्भीर छौँ र तपाईंले दिएको सुझाव र प्रश्नहरुको पनि जवाफ आउने गरी नै काम गर्नेछौँ,मौखिक रुपमा भन्दा पनि कामले नै जवाफ दिनेछौँ, समस्याप्रति हामी गम्भीर छौँ। राजनीतिक दल, संसद र संसदीय समितिले पनि आवश्यक सहयोग गर्नुपर्छ।
घटना भइसकेपछि त्यसलाई बेवास्ता गरेर जाँदैनौँ। सडकलाई खाल्डाखुल्डी रहीत बनाएर हुन्छ की, सडक सुधारका कामलाई तिब्रता दिएर हुन्छ की ? सवारीसाधन परीक्षणका कामलाई अझै व्यवस्थित गरेर हुन्छ की ? चालकलाई प्रशिक्षण दिएर हुन्छ की ? हामी समस्याको निराकरण गर्नेकुरामा हामी गम्भीर छौँ।’
सरकार सवारी साधन दुर्घटनाको न्युनिकरणका लागि आवश्यक काम गरेर अघि बढीरहेको बताए।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij