२०८३, बैशाख १३ गते

Apr 26 2026 | २०८३, बैशाख १३ गते

राजनीति गर्ने मान्छेहरु सबैभन्दा पहिला जेसीजमा लाग्नुपर्छ : नगरप्रमुख खाण

मंगलवार , माघ २, २०८०

  • 763
    Shares
  • 763
    Shares
  • भैरहवा, २ माघ ।
    रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख (मेयर) रामकृष्ण खाणले राजनीति गर्ने मान्छेहरु सबैभन्दा पहिला जेसीजमा लाग्नुपर्ने बताएका छन् । उनले जेसीज शासन व्यक्तिको होइन विधिको हुनुपर्छ भन्ने पूर्ण मान्यता राख्ने संस्था भएको बताए ।

    जेसीआई सिद्धार्थ, नेपाल सिद्धार्थनगर, रुपन्देहीको ४८ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनको मंगलबार भैरहवामा उद्घाटन गर्दै खाणले जेसीज एक व्यक्ति : एक पद र एक कार्यकाल भन्ने मान्यताका साथ अघि बढेको बताए । उनले भने, ‘राजनीतिमा लाग्ने मान्छेहरु जेसीजको सदस्यता लिएर जेसीजबाट जान सक्यौं भने मुलुकमा विधिको शासन कार्यान्यवन गराउनतर्फ लाग्न सकिन्छ । एउटा मान्छे बाँच्दासम्म एउटै पदमा बसिरहने र मृत्युवरण भएपछि बल्ल पद छोड्ने संस्कार र परम्पराको विकास भइरहेको छ ।’

    नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहेका खाणले जेसीजको विचारलाई आत्मसात गर्दै एक व्यक्ति : एक पद र एक कार्यकाल गरे सबैलाई भाग पुग्ने बताए । उनले जेसीज विधिको शासनमा अघि बढ्ने संस्था भएको उल्लेख गरे । उनले जेसीआई सिद्धार्थ सिद्धार्थनगरको मात्र नभइ रुपन्देकीकै गहना भएको बताए ।

    नगरप्रमुख खाणले रुपन्देहीको विकासले नेपालको विकास हुने भएकाले जिल्लाको विकास गर्न एकजुट भएर लाग्नुपर्ने बताए । उनले जेसीजले उत्पादन, रोजगारी, सहकारी र गाउँसँग आफूलाई जोड्नुपर्ने बताए ।

    युवाहरुलाई कृषि र उत्पादनसँग जोड्न सके विदेशिने नेपाली युवाहरुलाई स्वदेशमै रोक्न सकिने उनको भनाइ छ । महिलालाई आयआर्जनसँग जोड्न सके र आत्मनिर्भर बनाउन सके घरेल हिंसा न्यूनीकरण गर्न सकिने खाणले बताए ।

    त्यस्तै संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले शासन व्यक्तिको नभइ विधिको हुनुपर्नेमा जोड दिए । उनले जेसीजले विभिन्न व्यक्तिहरुलाई विभिन्न अवसर दिएको बताए । उनले भने, ‘प्राथमिकता र समाजको आवश्यकता पहिचान गर्दै अघि बढ्नुपर्छ । समयको महत्व बुझेर यसको व्यवस्थापन गर्नुपर्छ । अनि, मात्र जीवनमा सफलता प्राप्त गर्न सकिन्छ ।’

    जेसीआई सिद्धार्थ, नेपाल वर्ष २०२३ का अध्यक्ष मनोज भण्डारीले जेसीज सिक्ने थलो भएको बताए । उनले जेसीजको परिवारमा आबद्ध हुन पाउँदा गर्वको अनुभुति भएको बताए ।

    कार्यक्रममा जेसीआई सिद्धार्थ, नेपालका पूर्वअध्यक्ष एवं प्रमुख निर्वाचन आयुक्त ओम कुमार श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, नेपाल क्यान्सर सहयोग समूहका केन्द्रीय अध्यक्ष दिलिप भट्टराई, जेसीआई सिद्धार्थ, नेपालका पूर्वअध्यक्ष डा. शम्भु कुमार गुप्ता, चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन, रुपन्देही)का अध्यक्ष दर्पण श्रेष्ठ, कार्यक्रम संयोजक भिम बहादुर थापा, पंकज उदास, कमल जि.सी., विष्णु पाण्डे लगायतले बोलेका थिए ।