२०८२, फाल्गुण १३ गते

Feb 25 2026 | २०८२, फाल्गुण १३ गते

मगर महिला संघ बुटवल समितिद्वारा नेतृत्व विकासका लागि प्रशिक्षण

बुधवार , माघ ३, २०८०

  • 823
    Shares
  • 823
    Shares
  • बुटवल, ३ माघ । 
    नेपाल मगर महिला संघ बुटवल उपमहानगर समिति, रुपन्देहीले बुधबार बुटवलमा एकदिने संस्थागत तथा नेतृत्व विकास प्रशिक्षण सम्पन्न गरेको छ । बुटवलका १९ वटै वडाका महिलाहरुका लागि तालिम सञ्चालन गरिएको हो । 
    मल्टि स्पेशलिष्ट सेन्टर भुपु सैनिक डेन्टल प्रा.लि. र एडमण्ड सिटी हस्पिटल प्रा.लि.को आर्थिक सहयोगमा मगर महिला संघका केन्द्रीय नेतृत्वले प्रशिक्षण दिएको थियो ।

    कार्यक्रमको उद्घाटन गर्दै केन्द्रीय अध्यक्ष हिरुसरा रानाले विधि विधानमा राखेर संस्थागत विकास गर्दै सात वटै प्रदेशमा समिति गठन गर्दै आएको बताइन् । उनले राजनीतिक, आर्थिक, सामाजिक क्षेत्रमा बढी भन्दा बढी महिला प्रतिनिधित्व बढाउने गरी सक्षम महिला नेतृत्व विकासको अभियानमा आफूहरु लागेको बताइन् । भाषा, संस्कार, संस्कृतिलाई संरक्षण गर्दै नयाँ पुस्तामा पुस्तान्तरणको अभियानमा पहिलो प्राथमिकता भएको उनले उल्लेख गरिन् । संस्थामा रहँदा हरेकले विधि विधानलाई अनिवार्य पालना गर्न जरुरी हुने भन्दै मर्यादित र व्यवस्थित गर्ने कामलाई जोड दिनुपर्ने उनको भनाइ छ ।

    त्यस्तै नेपाल मगर संघका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज धनी आलेले सिक्ने र सिकाउने क्रममा आफूहरु रहेको बताइन् । सिकेका कुरा व्यवहारमा उतार्न सके मात्र तालिम सफल हुने उनले बताइन् । व्यक्ति व्यक्ति मिलेर संगठन बन्ने र यसबाट समुदायको आवश्यकतालाई पूरा गर्ने उनले बताइन् । 

    कार्यक्रममा नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य मधु रानाले केही नयाँ कुरा बुझ्ने र सिक्ने रुपमा कार्यक्रम गरिएको बताइन् । मगर महिलाहरुलाई संस्थागत नेतृत्व आजको आवश्यकता भएको भन्दै सिकाईलाई निरन्तरता दिन सुझाव दिइन् । मगर संघको विषयमा देखिएको विवाद समाधान गरेर अघि बढ्न जरुरी रहेको उनले बताइन्। 

    कार्यक्रममा नेपाल महिला मगर संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष धन कुमारी राना, केन्द्रीय उप–महासचिव चित्रा श्रीश, नेपाल मगर महिला संघ बुटवल उपमहानगर समितिका सल्लाहकार कुमारी थापा, नगर सचिव तिर्थ कुमारी सोमरे लगायतले बोल्दै संस्थाको लक्ष्य एउटै हुँदा आफूहरु एकजुट भएर लाग्नुपर्ने बताए । 

    कार्यक्रममा नगर अध्यक्ष गौरिमाया थापाले वडास्तरमा रहेका महिलाहरुको क्षमता अभिवृद्धि गर्न तालिममा नेतृत्व, संस्थागत विकास र द्वन्द व्यवस्थापनका विषयमा प्रशिक्षण दिइएको बताइन् । 

    यसैबीच नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको उपाध्यक्ष पदमा निर्वाचित भएकोमा डा. वर्षा थापालाई सम्मान गरिएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा दन्त चिकित्सक विभाग प्रमुख वरिष्ठ कन्सल्टेन्ट थापा भुपु सैनिक डेन्टल प्रा.लि.मा समेत कार्यरत रहेकी छन् ।