२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

संघीयता असफल बनाउने प्रयास सफल हुन दिन्नौ : सांसद् बनिया

शनिवार , माघ ६, २०८०

भैरहवा, ६ माघ ।
लुम्बिनी प्रदेश सभा सदस्य कन्हैया बनियाले संघीयता असफल बनाउने प्रयास गरिएको बताएका छन् । उनले संघीयता सफल हुन नदिन षडयन्त्र गरिए पनि त्यो सफल हुन नदिने दावी गरे ।

‘बलिदानी दिवस–२०८०’ को अवसरमा लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) रुपन्देही र जनता समाजवादी पार्टी, नेपाल (जसपा), रुपन्देहीले शुक्रबार भैरहवामा आयोजना गरेको दीप प्रज्ज्वलन कार्यक्रममा सांसद् बनियाले यस्तो बताएका हुन् । उनले संघीयताले नै मधेशको अधिकार सुनिश्चित गर्ने र मधेशको विकास हुने दावी गरे । उनले भने, ‘संघीयता हटाउने प्रयास कसैले नगरोस् । यो प्रयास सफल हुन दिन्नौ ।’

लोसपा लुम्बिनी प्रदेश संसदीय दलका उपनेता समेत रहेका बनियाले संघीयतालाई अझ बलियो बनाउनुपर्नेमा जोड दिए । उनले मधेशको हकअधिकारका लागि आफ्नो ज्यानको आहुति दिने शहीदहरुको सम्झनामा बलिदानी दिवस मनाइएको बताए । नेता बनियाले मधेशको हकअधिकार स्थापित गर्ने भएको लडाइमा राज्यबाट दमन भएपछि आन्दोलन अझ चर्किएको बताए  । 

उनले भने, ‘सरकारमा भएको बेला मुद्दा बिर्सनुहुँदैन र बिचलित हुनुहुँदैन । जहाँ भए पनि शहीदको योगदान कहिल्यै बिर्सनुहुँदैन । शहीदको बलिदानी र योगदानका कारण नै हकअधिकार पाएका छौं ।’

सरकारमा पार्टी रहेको बेला पनि आफूले निरन्तर सदन र सडकबाट मधेशी, जनजाति, महिला, दलित तथा उत्पीडित समुदायको हकअधिकारका लागि आवाज उठाइरहेको बताए । उनले भने, ‘बेथरीमा गोली चल्दा बालकको ज्यान गयो । भैरहवामा दुर्गेश यादवको मृत्यु भयो । यो कुरा कहाँ बिर्सन सकिन्छ र ?’ शहीदको सपना पूरा गरेर छोड्ने उनको भनाइ छ ।