२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

मदिरा व्यवसायी संघ भैरहवाका निर्वाचित पदाधिकारी तथा सदस्यहरूको पदस्थापन

शनिवार , माघ ६, २०८०

भैरहवा, ६ माघ ।
मदिरा व्यवसायी संघ भैरहवा, रुपन्देहीको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको पदस्थापन कार्यक्रम शनिबार भैरहवामा सम्पन्न भएको छ ।

गत पुस ६ गते सम्पन्न संघको साधारण सभा तथा अधिवेशनले बाबुराम पाण्डेको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो । संघको वरिष्ठ उपाध्यक्षमा भागिरथ पाण्डे, उपाध्यक्षमा केशव कुँवर, महासचिवमा यादव पोखरेल, सचिवमा तेज बहादुर खत्री, कोषाध्यक्षमा सुन्दर भण्डारी र सह–कोषाध्यक्षमा विनोद आचार्य निर्वाचित भएका थिए ।

त्यस्तै कार्यसमिति सदस्यहरुमा बसन्त पाण्डे, सन्तोष शर्मा, प्रकाश पाण्डे, रमेश धवल, विष्णु गौतम, गंगाराम पराजुली, पिताम्बर खनाल, सुनिल यादव र हेमराज पौड्याल निर्वाचित भएका थिए ।
कार्यक्रममा प्रमुख निर्वाचन अधिकृत तथा मदिरा व्यवसायी संघका सल्लाहकार खिमबहादुर खत्रीले नवनिर्वाचित पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । 

कार्यक्रममा संघका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले नवनिर्वाचित बाबुराम पाण्डेलाई, महासचिव केशव कुँवरले नवनिर्वाचित महासचिव यादव पोखरेलले र कोषाध्यक्ष यादव पोखरेलले नवनिर्वाचित अध्यक्ष सुन्दर भण्डारीलाई पद हस्तान्तरण गरेका थिए । त्यस्तै अध्यक्ष पाण्डेले खिमबहादुर खत्री, ठाकुर कुमार श्रेष्ठ र फुलसिंह क्षेत्रीलाई संघको सल्लाहकारमा मनोनित गरेका छन् ।

कार्यक्रममा संघका संस्थापक अध्यक्ष ज्ञवालीले आफ्नो कार्यकालमा सहयोग गरेको भन्दै कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई कदरपत्र प्रदान गरेका थिए ।

पद हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देहीका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले राज्यले मदिरा व्यवसायीलाई विशेष रुपमा हेरेको बताए । उनले मुलुकको अर्थतन्त्रमा मदिरा व्यवसायीको महत्वपूर्ण योगदान रहेको बताए । अध्यक्ष श्रेष्ठले भैरहवाको समग्र विकास तथा यहाँ सञ्चालित परियोजनाहरुलाई सफल बनाउन एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । उनले मदिरा व्यवसायी संघका संस्थापक अध्यक्ष केशवराज ज्ञवाली नेतृत्वको टीमलाई संघलाई गतिशिल संस्थाको रुपमा स्थापित गरेको बताए । उनले भने, ‘तपाईहरुका हरेक सकारात्मक काममा सिद्धार्थ उद्योग वाणिज्य संघ साथमा छ ।’

मदिरा व्यवसायी संघ भैरहवाका नवनिर्वाचित अध्यक्ष बाबुराम पाण्डेले आफूले सबैको साथ, सहयोग र सल्लाह–सुझावको अपेक्षा राखेको बताए । उनले व्यवसायीको पीरमर्का र दुःखसुखमा संघ साथमा रहेको बताए । उनले संस्थाले विभिन्न सामाजिक कार्य गर्दै जाने बताए ।

संघका संस्थापक अध्यक्ष केशवराज ज्ञवालीले संघले व्यवसायीको हकहितसँगै सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको बताए । उनले मदिरा व्यवसायीलाई हेर्ने दृष्टिकोणमा फरक हुन नहुने बताए । उनले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवाद दिदै नवनिर्वाचित टीमलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।

सिद्धार्थ सञ्जाल, रुपन्देहीका अध्यक्ष अनिल कुमार ज्ञवालीले मदिरा व्यवसायी संघ भैरहवा यहाँसम्म पुग्न केशवराज ज्ञवाली नेतृत्वको टीमको योगदान रहेको बताए ।

कार्यक्रममा चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन), रुपन्देहीका अध्यक्ष दर्पण श्रेष्ठ, मदिरा व्यवसायी संघ भैरहवाका सल्लाहकार खिमबहादुर खत्री, लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी, सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ का वडाअध्यक्ष नारायण प्रसाद उपाध्याय, निर्वाचन समिति सदस्य लक्ष्मण ज्ञवालीलगायतले बोलेका थिए ।

420061542_898192948980851_411458891459283876_n.jpg

कार्यक्रममा सवारी दुर्घटनाबाट घाइते मदिरा व्यवसायी संघ भैरहवाका पूर्व कार्यसमिति सदस्य बालकृष्ण सदस्य राहतस्वरुप रु. २१ हजार प्रदान गरिएको थियो ।