images

सोमवार, बैशाख २४ गते २०८१

बुटवल उपमहानगरको बजेटमा कर छुटका नयाँ प्रावधान

बुटवल उपमहानगरको बजेटमा कर छुटका नयाँ प्रावधान

images
images
images
मंगलवार, श्रावण ६ २०७७
मंगलवार, श्रावण ६ २०७७
  • बुटवल उपमहानगरको बजेटमा कर छुटका नयाँ प्रावधान

    बुटवल, १२ असार ।
    रुपन्देहीको बुटवल उपमहानगरपालिकाले कोभिड–१९ को मारमा परेको निजी क्षेत्र तथा व्यवसायीलाई राहत हुने गरी बजेटमा नयाँ व्यवस्था गरेको छ । करदातालाई सम्मान र प्रोत्साहन गर्दै आएको बुटवलले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमार्फत निजी क्षेत्रका लागि राहतको व्यवस्था मिलाएको हो ।

    images
    images
    images

    कोभिड–१९ को महामारीबाट साामाजिक आर्थिक क्षेत्रमा परेको असर न्यूनिकरणका लागि कर राजश्वमा दिने व्यवस्था गरिएको प्रमुख शिवराज सुवेदीले बताए । उनले निजी क्षेत्र र यहाँका साना–ठूला व्यवसायी सबैलाई राहतको अनुभूति हुने गरी कर छुट र प्रोत्साहन लगायतका व्यवस्था मिलाइएको बताए ।

    नयाँ रोजगारीका अवसर सिर्जना गर्दै कोभिड–१९ लगायतका महामारी तथा विपद्को सामना गर्दै, सामाजिक आर्थिक जनजीवनलाई सुरक्षित एवम् सहज बनाउनेतर्फ उपमहानगर केन्द्रित रहेको र आगामी आ.व.को बजेटमा पनि सोही लक्ष्य लिइएको प्रमुख सुवेदीको भनाइ छ ।

    बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक उपप्रमुख गुमादेवी आचार्यले बुटवलले नयाँ बजेटमार्फत साना व्यवसायी, उद्यमी र किसानसम्मलाई कर छुट दिने व्यवस्था मिलाएको बताइन् । उद्योग, व्यवसाय र लगानीमा गिरावट आएको, होटल, यातायात लगायतका कतिपय सेवा, उद्योग व्यवसाय ठप्प प्रायः भएको, सिंगो समाज र अर्थतन्त्र पुनस्र्थापना र राहतको पर्खाइमा रहेको बेलामा राहतको व्यवस्था मिलाउने प्रयास गरिएको उपप्रमुख आचार्यको भनाइ छ ।

    स्वास्थ्य, शिक्षा, कृषि तथा खाद्य सुरक्षालाई जोड दिदै कृषि उत्पादकत्व बढाउने र रोजगारीका अवसर सिर्जना गरी स्थानीय सेवालाई प्रभावकारी बनाउने, निजी क्षेत्रलाई प्रोत्साहन गर्दै उपभोक्ताका हक हीतका काममा प्रतिवद्ध बनाउनु नै आजको प्रमुख कार्यभार र दायित्व मानेर बजेट ल्याइएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माले बताए ।

    यस्ता छन् नयाँ व्यवस्था

    उपमहानगरका वित्त व्यस्थापन महाशाखाका प्रमुख वरिष्ठ अधिकृत विष्ण ुप्रसाद खनालले बजेटमा गरिएका नयाँ व्यवस्थाले निजी क्षेत्र, साना–ठूला व्यवसायीदेखि सामान्य किसानसम्मलाई राहत मिल्ने दावी गरेका छन् । बुटवल उपमहानगरले निमार्ण गरेका र स्वामीत्वमा रहेका व्यवसायिक सपिङ कम्प्लेक्स, पसल घर तथा व्यवसायिक सटरमा व्यवसाय गर्नेका लागि भाडामा एक महिनाको छुट दिनेदेखि विभिन्न शिर्षकमा छरटको व्यवस्था गरिएको छ ।

    २०७६ चैत देखिको वक्यौता रकममा लाग्ने सबै जरिवाना छुट दिइएको छ । त्यसै गरी सम्पत्ति, वहालमा लिएको भवन, सटरहरुको म्याद ०७७ असार मसान्तमा सकिनेको हकमा स्वतः एक वर्ष अर्थात् २०७८ असार मसान्तसम्मको अवधि थप गरिने भएको छ । बुटवलले यहाँका अरु सबै घरधनीलाई पनि आ–आफ्ना घर, सटरमा पेशा व्यवसाय गरी बसेकालाई भाडामा छुट दिन अनुरोध गर्दै त्यस्ता घरधनीलाई उपमहानगरबाट प्रोत्साहनका कार्यक्रममा समावेश गर्ने बताएको छ ।

    त्यसै गरी घरवहाल कर र व्यवसाय कर सम्बन्धमा बुटवलले कर बुझाउनुपर्ने दायित्व भएका कर दाताहरुले आव २०७७/०७८ को कर रकम २०७७ पुस मसान्तसम्म बुझाएमा लाग्ने करमा २५ प्रतिशत छुट दिने निर्णय गरेको छ । छुट दिने व्यवस्थासहितका नयाँ प्रावधानलाई नगरसभाको अधिवेशनबाट पारित भएसंगै वेभसाइटमा राखिनेछ ।

    दर्ता हुन बाँकीलाई पनि छुटसहित अवसर

    अन्य सरकारी निकायमा दर्ता भएका तर बुटवल उपमहानगरपालिकामा विभिन्न कारणले दर्ता हुन छुट भएका व्यवसायी र उपमहानगरपालिकामा दर्ता भएका करदाताहरुको कर निर्धारण गर्दा आर्थिक वर्ष २०७४/०७५ लाई आधार गरी कर निर्धारण गर्ने र सोभन्दा अगाडिको वक्यौता रकम र जरिवाना सबै छुट दिइने भएको छ । स्थानीय तहमा दर्ता हुनुपर्ने कैयन व्यवसायीलाई यो नयाँ व्यवस्थाले ठूलो राहत मिल्ने छ ।

    सम्पत्ति करको प्रावधान फेरियो

    यस अघि घर र वरपरको जग्गासमेत सबै एउटै शिर्षकमा कर लिने व्यवस्था थियो । यस्तो व्यवस्थालाई यसपटकदेखि बदलिएको छ । सम्पत्ति कर, भूमि कर मालपोत विगतमा घर र जग्गाको एकीकृत रुपमा मूल्यांकन गरी लिइँदै आएकोमा सम्पत्ति करमा पुनरावलोकन गरिएको छ । घर र सो घरले ओगटेको क्षेत्रफल बराबरको जग्गामा मात्र सम्पत्ति कर लिने, सो बाहेकको बाँकी जग्गामा भूमीकर मालपोत मात्र लिने र त्यसमा पनि १५ प्रतिशत छुट दिने नयाँ व्यवस्था भएको छ । यस्तो व्यवस्थाले खास गरी किसानहरुलाई ठूलो राहतको अनुभूति हुने निश्चित छ ।

    कति छन् उपमहानगरका व्यवसायिक सटर ?

    हाटबजार क्षेत्रको उत्तर–दक्षिणतर्फ, पूर्व–पश्चिमतर्फका सटर, शिल्पकला भवन, हाटबजार माथिल्लो तला, अमरपथ सपिङ कम्प्लेक्स, पुरानो बसपार्क तथा लुम्बिनी बस टर्मिनल परिसरमा गरी एक सय भन्दा धेरै सटरलाई व्यवसायिक प्रयोजनमा लगाएको छ । यी सटरहरुबाट बुटवलले मासिक करिब २० लाख रुपैयाँ भाडा उठाउँदै आएको छ । नयाँ ७२ सटर केही महिनामै उपमहानगरको स्वामित्वमा आउनेछन् । यसका अतिरिक्त बुटवलले बस टर्मिनल परिसरमा बहुउद्देश्यीय बहुतले सपिङ कम्प्लेक्स निर्माण गरिरहेको छ । यहाँ विभिन्न शिर्षकमा व्यवसाय गर्नेहरुको संख्या (दर्ता र नवीकरणका आधारमा) १४ हजार रहेको छ । बुटवलले हरेक वर्ष सम्पत्ति कर, घरजग्गा बहाल कर र व्यवसाय कर बुझाउनेमध्येबाट प्रोत्साहन स्वरुप सम्मान गर्दै आएको छ ।

    निजी क्षेत्रद्वारा स्वागत

    बुटवल उपमहानगरपालिकाले आगामी आ.व.का लागि दुई अर्ब एक करोड बराबरको बजेट प्रस्तुत गरेको थियो । उक्त बजेटमा कर र राजश्वका सम्बन्धमा बजेटमार्फत नयाँ व्यवस्था गरिएको छ । यो निर्णयसंगै बुटवलका विभिन्न ठाउँमा व्यवसाय सञ्चालन गर्दै आएका सटरका व्यवसायी, झण्डै १५ हजार करदाता र समग्र निजी क्षेत्रलाई राहत हुने अपेक्षा गरिएको छ । यसलाई निजी क्षेत्र र व्यवसायीले स्वागत गरेका छन् ।

    रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहोनीले मारमा परेका व्यवसायीलाई बुटवलले थोरै भए पनि सम्बोधनको काम गरेको भन्दै प्रशंसा गरे । उनले तीनै तहका सरकारबाट राहतको व्यवस्था हुन जरुरी रहेको बताए ।

    रुपन्देही उद्योग संघका अध्यक्ष तथा युवा उद्यमी बाबुराम बोहोराले उद्योग, व्यवसायका विद्यमान समस्यालाई पहिचान गरेर दीर्घकालीन समाधानको उपाय खोज्न जरुरी रहेको बताए । उनले बुटवल उपमहानगरले करमा छुट दिने निर्णय गरेर केही प्रोत्साहनको काम गरेको भन्दै सराहना गरे ।

    बुटवल उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि अर्यालले बुटवल उपमहानगरपालिकाले राजस्व परामर्श समिति बनाएर, छलफल गर्ने, सुझाव लिने र समन्वय गरेर काम गरेको पाइएको बताउँदै निजी क्षेत्रलाई यो बेलामा राहतको खाँचो रहेकोमा बुटवलले थोरै भए पनि सम्बोधन गरेको बताए ।

    images
    images
    लोकप्रीय
    थप समाचार

    Copyright © All right reserved to khabarpatro Site By: sobij