१ माघ, २०७७ मा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १३ की ५ वर्षिय बालिकाको बलात्कारपछि हत्या प्रयास गरिएको समाचार विभिन्न समाचार माध्यममा आयो। स्थानीय विद्यालयको एक कक्षामा पढ्ने ५ वर्षिय ती बालिका स्थानीय एक व्यक्तिबाट बलात्कारको सिकार भएको त्यो समाचारले मेरो मनमा निकै अटसमटस गरायो। त्यही समयदेखि मेरो मनमा त्यो कुराले निकै हलचल मच्चाइ रह्यो। अफिसमा काम गर्दा होस् वा घरको भान्सा कोठामा काम गर्दा होस् त्यो कुराले मनमा निकै पिरोली रह्यो। त्यति मात्रै नभएर बजार जाँदा अथवा अरु कुनै काम गर्दा यही कुराले पिरोली रह्यो। सायद मेरो मनमा मात्र नभएर धेरै आमाहरुको मनमा यो विषयले हलचल मच्चाएको छ होला।
मरो घरको नजिकै की त्यो अबोध कलिलो सानी नानी बलात्कारको सिकार भएको समाचार आउँदा म कामको सिलसिलामा काठमाण्डौं थिए। विभिन्न समाचार माध्यममा आएको समाचारले मेरो शरीरै सिरिङ भयो। रातभरी त्यहीं कुराले पिरोलीरह्यो। म पनि त एउटी छोरीकी आमा हँु। त्यो नानीलाई सम्झेर मेरा परेला जोडिन मानेन्न। एकनास सम्झिरहे ती भर्खर बोली फुट्दै गरेका ओठले बाबा आमा भन्दै पछि लाग्ने घरको आगन पिडीमा बसेर खेल्ने ती कलिला कोपिला जस्ता छोरीहरु हाम्रा घरै छेउछाउ र घरैबाट बलात्कृत हुन्छन्। हुन त यो घटना पहिलो होइन, दिनहँु जस्तै यस्ता खालका क्रुर घटना घटिरहेका छन्। जसलाई परेको छ उसले मात्रै भोगेको छ त्यो पीडा।
सरकारले अबोध कलिला बालिकामाथि भएका बलात्कारका दोषीलाई कानुन कठघरामा नपुयाउँदा उनीहरुको मन कस्तो भएको होला त्यो कुरा उनीहरुलाई मात्रै थाहा छ। सजाए नभएको, न्याय मरेको देशमा जन्म लिएका हामी नारीहरु कोही पनि सुरक्षित छैनौ होला। बलात्कार मात्र नभएर घरेलु हिंसा, दाइजो नल्याएको निहँु जस्ता कुरालाई लिएर दिनदिनै कुटपिट, आगो लगाउने जस्ता अभद्र व्यवहार महिलामाथि हुँदै आएको छ। यस्ता खालका घटना घटाउने जोसुकैलाई पनि उसले महसुस गर्ने खालको कारर्वाही गर्न जरुरी छ।
कसरी होला हामी महिलामाथि हुने अन्याय र अत्याचारको जालो फारिने। स्कुल गएका छोरी र कामले घर बाहिर गएका छोरी बेलामा घर नआउने बेलासम्म आमाबाबाका आँखा छोरी आउने बाटो तर्फमात्रै टहलिने। यस्ता उदाहारण धेरै छन्।
सानीनानीका बल्ल आकार लिदै गरेको कलिलो मासुमा अबोध बच्चीमाथि छरछिमकमा काम गर्ने २८ वर्षिय पुरुषले बलत्कार गरेर आफ्नो पुरुषत्व देखायो। सानीनानीको शरीरमाथि मरणासन्न अवस्थामा पुर्याइ उसको जिन्दगी र भविष्यसंग खेल्ने अपराधीलाई जेलमा ज्वाई जस्तै निःशुल्क खाना र कम्मलको व्यवस्था हुनेछ। केही समयपछि शानका साथ छुट्छ होला।
हुन त यस्ता घटना एउटा मात्र होइन दिनहुँ जस्तै घटिरहेको हुन्छ। नहोस् पनि किन र अपराधीलाई जुन खालको सजाय हुनुपर्ने हो त्यसो नभएर जेलमा ज्वाईलाई जस्तै राखिन्छ। कति अपराधी त लुकाइन्छ। घरेलु हिंसा र बलात्कारका घटना किन नमौलाओस्, पुरा देश नै निर्मला पन्तको न्यायको लागि उल्टेर सडकमा आउँदा त अहिलेसम्म न्याय मिलन सकेको छैन्। अपराधीको पहिचान हुन सकेको छैन्। पन्तको न्याय माग्दा कतिले गोली खाएर अहिलेसम्म बिस्तारामै मर्ने कि बाँच्ने अवस्था छन्।
कन्चनपुरकी ती निर्मला पन्त पनि साथीको घर पढ्न गएकी थिइन्। सांझमा घर नआएपछि परिवार खोज्न जाँदा उखुबारीमा निर्मलालाई मृत अवस्थामा फेला पारिएको थियो। नारीको सुरक्षाको विषयमा आवाज नउठेका होइनन् तर जति उठे पनि प्रहरी प्रशासनको फाइलमै सिमित रहे मुद्दा हालो तारिख खेप्दै वर्षौ बिताइदिने हुँदा मानिसहरु दिक्क मानेर मुद्दा लड्नै छाडेका थुप्रै उदाहरण रहेका छन्।
हाम्रा देशको उच्चओहोदामा बस्ने पनि नारी नै छन्। तर दिनदिनै नारीमाथि हुने अत्याचारले सीमा पार गरिसक्दा पनि उनीहरुको लागि न्याय त परै जाओस् पीडित नारीको पक्षमा एउटा आवाज समेत उठ्दैनन्। साना नानीहरु आँगनमा खेल्दै गर्दा बलात्कृत हुन्छन्। न्याय दिनेहरु नै पैसाको लोभलालचमा न्याय बेच्छन्। बलात्कारीलाई लुकाउन र छुटाउन लागिपरेका हुन्छन्। अनि कसरी हुन्छ सत्य न्याय। नारीमाथि हुने हत्या, बलात्कार, घरेलु हिंसा जबसम्म अपराधीले शारीरिक रुपमा सजाय पाउँदैन, कडा सजाय पाउँदैनन् तबसम्म यस्ता घटनाले जरा गाडेर बसिरहने छन्।