२०८२, माघ ६ गते

Jan 20 2026 | २०८२, माघ ६ गते

विद्यार्थीलाई आफ्नै सन्तान ठानेर पढाउनुस् : सांसद् घिमिरे

आइतवार , माघ ७, २०८०

  • 961
    Shares
  • 961
    Shares
  • बुटवल, ७ माघ । 
    प्रतिनिधि सभा सदस्य बासुदेव घिमिरेले शिक्षकशिक्षिकाले विद्यार्थीलाई आफ्नै सन्तान जस्तै ठानेर पढाउनुपर्ने सुझाव दिएका छन् । रुपन्देहीको तिलोत्तमा–४ स्थित जनज्योति माध्यमिक विद्यालयको ५६ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सांसद् घिमिरेले आफ्नै छोराछोरी सम्झेर आफूमा भएको ज्ञान पूर्ण रुपमा विद्यार्थीलाई दिन आग्रह गरे ।

    ‘जसरी आमाबुवाले आफ्ना सन्तानलाई माया गर्छन्, संस्कारी, ज्ञानी र अनुशासित होस् भन्ने कुरामा सम्पूर्ण ध्यान दिन्छन् त्यसरी नै सामूदायिक विद्यालयका विद्यार्थीलाई शिक्षकशिक्षिकाले आफ्नै छोराछोरी सम्झेर पढाउने हो भने विद्यार्थीको शैक्षिकस्तर र अन्य ज्ञानमा अब्बल हुन्छन्’–सांसद् घिमिरेले भने–‘सामूदायिक विद्यालयमा राज्यको ठूलो बजेट लगानी भएकाले शिक्षकशिक्षिकाले इमान्दार भएर पठनपाठनमा ध्यान दिनुपर्छ, कत्ति पनि हेलचेक्रयाई गर्नुहुँदैन ।’  उनले मार्कसिटमा उत्कृष्ट अंक ल्याएर मात्र विद्यार्थी पूर्ण नहुने भएकाले अनुशासन, व्यवहारिक ज्ञान र संस्कारमा पनि विद्यालयले जोड दिनुपर्ने सुझाव दिए ।  

    उनले जनज्योति मावि भौतिक पूर्वाधारले सम्पन्न भइसकेकाले अब शैक्षिक नतिजा र गुणस्तरमा पनि अब्बल हुनुपर्ने सुझाव दिए । पछिल्लो समय विद्यार्थी र युवामा नेपालमा केही अवसर र सम्भावना छैन भनेर विदेश नै ताक्ने गलत परिपाटी ह्वात्तै बढेकाले यसलाई विद्यालय तहबाटै नियन्त्रणको प्रयास गरेर स्वदेशमै अवसर र सम्भावना खोज्न सांसद् घिमिरेले आग्रह गरे । 

    रुपन्देहीको शिक्षा र अन्य विकास लगायत विषयमा रुपन्देहीका संघीय सांसदहरुबीच निरन्तर छलफल भइरहेकाले त्यसले पनि सामुदायिक विद्यालयहरुको गुणस्तर वृद्धिमा टेवा पुग्ने उनले बताए । 

    कार्यक्रममा लुम्बिनी प्रदेश सांसद भगवती घिमिरे, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जगेश्वरदेवी चौधरी, समाजसेवी मनोरमा शेरचन, नेकपा (माओवादी केन्द्र) तिलोत्तमा नगर अध्यक्ष बेलप्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकर ढकाल, पूर्वअध्यक्ष मानकाजी श्रेष्ठ, अनुशासन संयोजक देवप्रसाद गुरुङ, दिनेश थापा लगायतले मन्तव्य राखेका थिए । 

    विद्यालयका प्रधानाध्यापक बाबुराम आचार्यले प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयमा हाल करिब १ हजार १ सय विद्यार्थी अध्ययनरत रहेको र विद्यालयले शैक्षिक नतिजासँगै खेलकुदमा पनि राम्रो नतिजा हासिल गरिरहेको बताए । अंग्रेजी माध्यममा पनि पढाई सुरु गरेपछि विद्यार्थीको आकर्षण बढेको उनले बताए । 

    वार्षिकोत्सवका अवसरमा विविध खेलकुद, बौद्धिक, साहित्यिक, निबन्ध लेखन प्रतियोगिता र खाना महोत्सव आयोजना गरिएको विद्यालयका प्लस टु संयोजक पिताम्बर पराजुलीले बताए । 

    समापन समारोहमा विद्यालयमा दाताहरुले स्थापना गरेका ३५ वटा अक्षयकोषबाट ३५ जना छात्रछात्रालाई नगद छात्रवृत्ति प्रदान गरिएको पराजुलीले जानकारी दिए । यस्तै विद्यालयको नवनिर्मित भवन पनि उद्घाटन, शिक्षकहरुलाई सम्मान गरिएको थियो । कक्षा ११ र १२ मा व्यवस्थापन र शिक्षा विषय पढाइ भइरहेकोमा निकट भविष्यमा विज्ञान विषय पनि थप गर्ने तयारी रहेको प्लस टु संयोजक पराजुलीले बताए ।