२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

प्रधानमन्त्री कप : ललितको ५ विकेटमा पुलिसको चौथो जीत

सोमवार , माघ ८, २०८०

  • 955
    Shares
  • 955
    Shares
  • भैरहवा, ८ माघ ।
    नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार चौथो जीत निकालेको छ। सोमबार भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा नेपाल एपीएफ क्लबलाई ५८ रनले पराजित गर्दै पुलिसले लगातार चौथो जीत निकालेको हो । एपीएफले भने लगातार दोस्रो हार बेहोरेको छ ।

    बायाँ हाते स्पिनर ललित नारायण राजवंशी चम्किँदा पुलिसको जीत सहज भयो । ललितले ८ ओभरमा मात्र ८ रन खर्चेर ५ विकेट लिए । पुलिसले प्रस्तुत गरेको १ सय ४६ रनको लक्ष्य पछ्याउने क्रममा एपीएफ ३४ ओभरमा ८७ रनमै अलआउट भयो । एपीएफका लागि सन्दीप जोरा ६७ बलमा २५ रन जोड्दै नटआउट रहे । उनले २ चौका प्रहार गरे । निकै खराब सुरुवात गरेको एपीएफ एक समय ४०–७ को स्थितिमा थियो । अमर रौतेला र सन्दीपले आठौं विकेटका लागि ४३ रनको साझेदारी गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए । तर अमर ललितकै बलमा क्याच आउट भएपछि पुलिस जिततर्फ अग्रसर भयो । अमरले ५४ बलमा ३ चौकासहित २३ रन जोडे ।

    प्रदीप ऐरीलाई सातौं ओभरमा गुमाएपछि सुरु भएको विकेट पतन रोक्न नसक्दा एपीएफ हारको सामना गर्न पुग्यो । प्रदीप ४ रन जोड्दै ललित राजवंशीको बलमा कुशल भुर्तेलबाट स्लिपमा क्याच आउट भए । पुरण विक १ रन जोड्दै रनआउट हुँदा प्रज्वल शाही १३ रन जोड्दै ललितकै बलमा क्याच आउट भए । त्यसपछि लोकेश बम र कप्तान रोहित पौडेल कुनै रन नथपी पेभेलियन फर्कंदा एपीएफ २५–५ को स्थितिमा पुग्यो । सुमित महर्जन २ र भुवन कार्की ४ रन जोडेर आउट भए । मौसम ढकाललाई ललितले दोस्रो बलमा बोल्ड गरे । अन्त्यमा रमेश कुर्मी रनआउट भएपछि पुलिसको जीत पक्का भएको थियो ।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले १ सय ४५ रन जोडेको थियो । खराब मौसमका कारण ४९ ओभरमा घटाइएको खेलमा पुलिस ४१ ओभरमा अलआउट भयो । पुलिसका लागि ओपनर दिलिप नाथले सर्वाधिक ४४ रन जोडे । पहिलो ओभरमा सुनिल धमलालाई शून्यमा गुमाएको पुलिसले दोस्रो विकेटका लागि राम्रो साझेदारी पायो । दिलीप र अर्जुन साउदले ७६ रनको साझेदारी गरेका थिए । दिलिप ६३ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै रोहितको शिकार बने । त्यसपछि भने एपीएफले लगातार विकेट लियो ।

    अर्जुन साउदले ३१, शंकर रानाले २२ र दीपेन्द्रसिंह ऐरीले १५ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । कुशल भुर्तेल र करण केसी डक आउट हुँदा अमित श्रेष्ठ ८, रशिद खान ५ र ललित राजवंशी ४ रनमा आउट भए । एपीएफका भुवन कार्कीले ३ विकेट लिँदा अमर रौतेला र रमेश कुर्मीले २–२ विकेट लिए । पुरण विक, रोहित पौडेल र मौसम ढकालले समान १–१ विकेट लिए । पुलिसका ललित प्लेयर अफ द म्याच भए । एपीएफ यस हारसँगै ४ खेलमा ४ अंकसाथ पाँचौ स्थानमा छ । पुलिस भने ४ खेलमा ४ जीत दर्ता गर्दै ८ अंकका साथ शीर्षस्थानमा उक्लिएको छ ।