२०८२, श्रावण २७ गते

Aug 12 2025 | २०८२, श्रावण २७ गते

बुटवलमा इही र कयेता पूजाको तयारी तीव्र

मंगलवार , माघ ९, २०८०

बुटवल, ९ माघ । 
प्रत्येक वर्ष बुटवलमा हुँदै आएको नेवाः कन्याहरुको इही तथा बटुकहरुको कयेता पूजाको तयारी तीव्र पारिएको छ । माघ २० र २१ गते बुटवलस्थित भूपु सैनिक मैदानमा हुने इही र कयेता पूजाको तयारी अन्तिम चरणमा पुगेको आयोजक नेवाः सेवा समितिका अध्यक्ष चिरन्जिवी श्रेष्ठले बताए ।

काठमाडौंबाट नेवाः पुरोहीत र (राजोपाध्याय) द्यो माँ बोलाएर गरिने नेवारी विधि र परम्पराको इही र कयेता पूजाका लागि विभिन्न समितिहरु बनाइएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार पूजालाई व्यवस्थित र विधिसम्मत बनाउन समितिका सचिव लक्ष्मण श्रेष्ठ र सदस्य भगवती श्रेष्ठलाई संयोजक तोकिएको छ भने त्यस अन्तर्गत विभिन्न उपसमिति बनाइएको छ ।

बुटवल र यस आसपासका नेवाः समुदायबाट प्रतिनिधित्व हुँदै आएको इही तथा कयेता पूजामा हालसम्म ७० बढी कन्याहरु र २० बढी बटुकहरुको नाम दर्ता भइसकेको संयोजक लक्ष्मण श्रेष्ठले जानकारी दिए । इहीमा पहिलो रोहमा कजि कन्या एकजना, दोस्रो रोहमा पञ्चकन्या ५ जना, तेस्रो रोहमा ९ कन्या, चौथो रोहमा २१ कन्या र त्यसपछि सहभागी कन्याहरुलाई राखेर पूजाको व्यवस्था मिलाइएको संयोजक श्रेष्ठले बताए । सहभागी कन्याहरुबाहेकको सबै रोहको स्थान पूर्ण भइसकेको र साधारण रोहका लागि भने इच्छुक नेवाः कन्याहरुको नाम दर्ता जारी रहेको उनले बताए ।

इहीका लागि प्रतिकन्या ३ हजार ५०० दर्ता शुल्क लिइएको र कयेता मूजाका लागि प्रतिबटुक १० हजार शुल्क लाग्ने उनले बताए । सोही शुल्कमा खाना, फूल प्रसादको समेत आयोजकले व्यवस्थापन गर्ने उनले जानकारी दिए ।