२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्रधानमन्त्री कप : आर्मीको ४ विकेटको जीत

मंगलवार , माघ ९, २०८०

भैरहवा, ९ माघ ।
त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लबमाथि ४ विकेटको जीत निकालेको छ । रुपन्देहीको भैरहवास्थित सिद्धार्थनगर क्रिकेट रंगशालामा मंगलबार एपीएफलाई हराउँदै आर्मीले प्रतियोगितामा तेस्रो जीत निकालेको छ । आर्मीले जीतका लागि एपीएफले दिएको १ सय २२ रनको लक्ष्य २४ औं ओभरमा ६ विकेटको नोक्सानीका पूरा गर्यो ।

यससँगै आर्मीले ५ खेलमा ३ जीत र २ हारका साथ ६ अंक जोडेको छ । एपीएफले भने ५ खेलमा २ जीत र ३ हार व्यहोर्दै सातौं स्थानमा छ । आर्मीका लागि कप्तान विनोद भण्डारीले नटआउट ३४ रन जोड्दै टीमलाई जीत दिलाए । उनले ४० बलमा ४ चौका र १ छक्का प्रहार गरे । कुशल मल्लले १९ र बसिर अहमदले १८ रन जोड्ने क्रममा समान २–२ चौका र १–१ छक्का प्रहार गरे । बलिङमा एपीएफका रमेश कुर्मीले २ विकेट लिँदा मौसम ढकाल र कप्तान रोहित कुमार पौडेलले समान १–१ विकेट लिन सफल भए ।

यसअघि कप्तान रोहित कुमार पौडेलले संघर्षपूर्ण अर्धशतकको मद्दतमा नेपाल एपीएफ क्लबले १ सय २१ रनको सामान्य योगफल बनाएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको एपीएफ ३२ ओभर ४ बलमा अलआउट भएको थियो । 

खराब मौसमका कारण ३६ ओभरमा झारिएको खेलमा एपीएफले सुरुवाती दुवै ओभरको पहिलो बलमा क्रमशः ओपनर प्रज्वल शाही र पुरन विक (३) लाई गुमाउँदा टीम संकटमा परेको थियो । दोस्रो ओभरमा ब्याटिङका लागि आएका कप्तान रोहित ३३ औं ओभरमा नवौं विकेटको रुपमा पेभेलियन फर्किए । उनले १ सय ३ बलको सामना गर्दै ५९ रन जोडे । स्पिनर बसिर अहमदको बलमा ठूलो सट खेल्ने क्रममा क्याच आउट हुनुअघि उनले २ चौका र २ छक्का प्रहार गरेका थिए ।

एकातर्फ लगातार विकेट झर्दा रोहितले अर्कातर्फबाट सम्हालिएर विकेट जोगाएर रन बटुलेका थिए । एपीएफका लागि भुवन कार्कीले १६ र सुमित महर्जनले १४ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बटुल्न सकेनन् । आर्मीका लागि प्लेयर अफ द म्याच समेत भएका सोमपाल कामीले ३ विकेट लिँदा अभिनाश कर्णले २ तथा विवेक यादव, साहब आलम र बसिर अहमदले समान १–१ विकेटको सफलता प्राप्त गरे ।