
बुधवार , माघ १०, २०८०
भैरहवा, १० माघ । लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले दाङको धानखोलामा मोटरसाइकल बिग्रेर सडकमा अलपत्र अवस्थामा रहेका युवायुवतीको उद्वार गरेका छन् । मंगलबार राती सवा ७ बजे देउखुरीस्थित गृह मन्त्रालयबाट फर्कने क्रममा धानखोलामा अलपत्र अवस्था रहेका दुईजनालाई मन्त्री पाण्डेयले उद्वार गरेका हुन् ।
मन्त्री पाण्डेयको सचिवालयका जैनुद्दीन देवानका अनुसार चिसो मौसममा रातीको बेला पहाडी सडकमा मोटसाइकल बिग्रेर अलपत्र अवस्थामा रहेको जानकारी पाएपछि मन्त्री पाण्डेय चढेको गाडी त्यही स्थानमा रोकिएको थियो । दाङबाट बुटवल जाने क्रममा मोटरसाइकल बिग्रेपछि मोटरसाइकल चालक र मोटरसाइकलमा सवार व्यक्ति गरी दुईजनालाई गाडीमा बसालेर चन्द्रौटासम्म पुर्याइएको देवानले जानकारी दिए । मोटरसाइकल पनि गाडीमा बाँधेर लगिएको उनले जानकारी दिए ।
मन्त्री पाण्डेयको भनाइ उद्धृत गर्दै देवानले भने, ‘सानो–ठूलो काम आफ्नो ठाउँमा छ । आफ्नै आँखा अगाडि आपतविपत परेको बेला मद्दत गर्नु जनप्रतिनिधिको दायित्व हो ।’
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले यसअघि सवारी दुर्घटनामा परी घाइते भएकाहरुलाई अस्पताल पुर्याएका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij