
बुधवार , माघ १०, २०८०
भैरहवा, १० माघ ।
बैदिक सनातन धर्म सेवा समिति सिद्धार्थनगर, रुपन्देहीको १० औं साधारण सभा तथा ८ औं अधिवेशनले गंगा श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिका सल्लाहकार एवं निर्वाचन अधिकृत खगेन्द्र काफ्लेका अनुसार पदाधिकारी एवं सदस्यसहितको कार्यसमिति सर्वसम्मत निर्वाचित भएको हो । निर्वाचित पदाधिकारी एवं सदस्यहरुमा निवर्तमान अध्यक्ष विनिता श्रेष्ठ, प्रथम उपाध्यक्ष लक्ष्मी रिजाल, द्वितीय उपाध्यक्ष सावित्री श्रेष्ठ, तृतीय उपाध्यक्ष अनिता पौड्याल, महासचिव ज्ञानीश्वरी श्रेष्ठ, कोषाध्यक्ष रुपमा हिराचन, सह–सचिव दुर्गा आचार्य, सह–कोषाध्यक्ष कृष्णा थैव तथा सदस्यहरुमा बेगम प्रधान, चम्पा बाटजु, लता शर्मा, देवकला आचार्य, सविता चौधरी र सरिता सिलवाल रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले संस्थाले गर्दै आएको सनातनी धर्मावलम्बीहरुको विभिन्न धार्मिक कार्यक्रमको निरन्तरता साथै अन्य रचनात्मक एवं सामाजिक कार्यहरु गर्ने बताइन् ।
अधिवेशनको उद्घाटन गर्दै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खानले बैदिक सनातन धर्म सेवा समितिले स्थापना कालदेखि नै धार्मिक लगायत सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गरे । उनले भैरहवालाई चिनाउने लुम्बिनी गेट निर्माणमा नेतृत्व लिएर सम्पन्न गरेको, बुद्धचोकको बुद्ध चैत्य निर्माण लगायतका काम गरेको भन्दै नगरलाई राम्रो बनाउने अन्य कार्यहरुको पनि प्रस्ताब लिएर आउन आग्रह गर्दै नगरपालिका सहयोग गर्न तयार रहेको बताए ।
त्यस्तै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १३ का वडाअध्यक्ष सोम बहादुर गुरुङले नगरमा सकारात्मक सोच राखेर यो संस्था अघि बढेको भन्दै संस्थाको भवनको माथिल्लो तल्लामा ट्रष्ट निर्माण गर्न एवं कार्यालयमा १ थान इन्भर्टर जडानका लागि सहयोग गर्ने बताए ।
कार्यक्रममा चेम्बर अफ कमर्श (उद्योग व्यापार संगठन रुपन्देही) की महासचिव लक्ष्मी अधिकारी, दीपज्योति महिला समूहकी अध्यक्ष शान्ति अधिकारी, राधे राधे संस्थाका प्रतिनिधि धन कुमारी, किशोरपुर दुर्गा मन्दिरकी पुनम क्षेत्री, बैदिक सनातन धर्म सेवा समितिका पूर्वअध्यक्ष सरस्वती द्धा, नारायणस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्णु उपाध्याय, बैदिकका सल्लाहकार खगेन्द्र काफले, न्यूज ओके साप्ताहिकका सम्पादक मनोरञ्जन शर्मा लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा स्वास्थ्य उपचार गराइरहेका सम्पादक शर्मालाई संस्थाले आर्थिक सहयोग प्रदान समेत गरेको थियो । शर्मा लुम्बिनी प्रेस क्लबका सल्लाहकार समेत हुन् ।
संस्थाका अध्यक्ष विनिता श्रेष्ठको सभापतित्व तथा कार्यक्रम संयोजक सावित्री श्रेष्ठको स्वागत मन्तव्य रहेको कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफनो कार्यकालका पदाधिकारी एवं सदस्य तथा विभिन्न कार्यक्रममा संयोजक भइ कार्य सफल बनाउनेलाई मायाको चिनो प्रदान गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij