२०८२, आषाढ २९ गते

Jul 13 2025 | २०८२, आषाढ २९ गते

प्रधानमन्त्री कप : एपीएफ ७ विकेटले विजयी

बिहिवार , माघ ११, २०८०

भैरहवा, ११ माघ ।
प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा कप्तान रोहितकुमार पौडेलको अर्धशतक र स्पिनर रमेश कुर्मीको ५ विकेटको मद्दतमा नेपाल एपीएफ क्लबले लुम्बिनी प्रदेशमाथि सहज जीत निकालेको छ । एपीएफले लुम्बिनीलाई ७ विकेटले पराजित जीत निकालेको हो ।

रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा बिहीबार भएको खेलमा जीतका लागि १३३ रनको विजयी लक्ष्य पछ्याएको एपीएफले २२ ओभर ३ बलमा ३ विकेटको नोक्सानी सहज जीत निकाल्यो । जीतसँगै एपीएफ ६ खेलमा ६ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ । एपीएफका लागि कप्तान रोहितकुमार पौडेलले ४८ बलको सामना गर्दै ४ चौका र १ छक्काको मद्दतमा ५२ रन जोडे । रोहितले यसअघि आर्मीविरुद्ध पनि अर्धशतक बनाएका थिए । पछिल्लो ५ मध्ये ४ खेलमा उनले अर्धशतक बनाएका छन् ।

त्यस्तै, एपीएफका पुरण विक ५७ बलमा २ चौका र १ छक्कासहित ३३ रनमा नटआउट रहे भने अमरसिंह रौतेलाले २ बलमा विजयी छक्कासहित ८ रन जोडे । एपीएफले ओपनर लोकेश बमलाई पाँचौ ओभरको पहिलो बलमा गुमाएको थियो । १४ बलमा २ चौका र १ छक्कासहित उनले १६ रन जोडे । अर्का ओपनर प्रज्वल शाही १५ बलमा १ चौकासहित ५ रनमा आउट भए । बलिङमा लुम्बिनीका मोहमद हुसेन, कृष्ण कार्की र इकलाख अहमदले समान १–१ विकेट लिए ।

यसअघि बायाँ हाते स्पिनर रमेश कुर्मीले ५ विकेट लिएपछि एपीएफले लुम्बिनी प्रदेशलाई १३३ रनको सामान्य योगफलमा अलआउट गर्न सफल भएको थियो । टस जितेर ब्याटिङ गरेको लुम्बिनी ४१ ओभरमा अलआउट भएको थियो । राम्रो सुरुवात गरेको लुम्बिनीको इनिङलाई एपीएफका रमेश कुर्मीले धरासायी बनाए । उनले लगातार मध्यक्रमको विकेट लिँदै ठूलो स्कोर बन्न दिएनन् ।

लुम्बिनीका लागि दिलसाद अलीले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ४२ बलमा ५ चौका प्रहार गरेर नटआउट रहे । ओपनर मिर्नाल गुरुङले ३४, विराट भण्डारीले २३, प्रज्वल थापाले ११ रन बनाए पनि पछिल्ला क्रमका तीन ब्याटर नर सार्की, अभिषेक गौतम र अजय चौहानले खाता खोल्न सकेनन् । एपीएफका लागि रमेशले १० ओभरमा २ मेर्डनसहित २९ रन खर्चेर ५ विकेट लिए । भुवन कार्कीले ३ तथा रोहितकुमार पौडेल र मौसम ढकालले समान १–१ विकेट हात पारे । रमेश कुर्मी प्लेयर अफ द म्याच घोषित भए ।