२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

सञ्चारमाध्यमको सबलीकरणका लागि प्रदेश सरकार अघि बढेको छ : गृहमन्त्री पाण्डेय

शुक्रवार , माघ १२, २०८०

रुपन्देही, १२ माघ ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले सञ्चारमाध्यम नागरिकको ऐना हुनुपर्ने बताएका छन् । उनले सरकारलाई दिशानिर्देश गर्ने र नागरिकका आवश्यकता सरकारसम्म पुर्याउने काममा सञ्चारमाध्यम संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिए ।

संचारिका समूह नेपालले शुक्रबार रुपन्देहीमा आयोजना गरेको लुम्बिनी प्रदेशस्तरीय सम्पादक तथा व्यवस्थापकहरुका लागि सञ्चारमाध्यममा लैंगिक समानता तथा सामाजिक समावेशीकरण र सुरक्षा विषयक प्रशिक्षण कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले सञ्चारमाध्यमको सबलीकरणका लागि प्रदेश सरकार अघि बढेको बताए । उनले सञ्चारमाध्यम खुल्ने क्रम बढेको बताउँदै त्यसको गुणस्तर विस्तारमा समेत ध्यान दिन आग्रह गरे ।

सञ्चारमाध्यममा ठूला दल, ठूला व्यक्ति, पद र प्रतिष्ठामा भएकाको मात्रै समाचार लेख्नु साटो समस्यालाई समाधान गर्ने खालका कुरालाई पनि ध्यान दिन सुझाव दिए ।

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेले सञ्चारमाध्यममा लैंगिक समानता तथा सामाजिक समावेशीकरणको सवाललाई मूल प्रवाहीकरण गर्न आग्रह गर्दै पत्रकार महिलाहरुको उत्पादन र क्षमता बढाउन पनि पहल गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानवअधिकार आयोगका बुटवल कार्यालय प्रमुख सोमनाथ सुवेदीले पत्रकारहरुको व्यवसायिक सुरक्षाका लागि राज्यले सघाउनुपर्ने बताए । उनले पत्रकारलाई समाचार सामग्री र प्रस्तुतीलाई लैंगिक र समाजिक समावेशीमैत्री बनाउन पनि आग्रह गरे ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले आफूबाटै लैंगिकताप्रतिको दृष्टिकोणलाई स्पष्ट पार्नुपर्ने बताए । उनले पत्रकार महिला तथा सिमान्तकृतहरु जातीय र लैंगिक रुपले आरक्षण मात्रै खोज्नुभन्दा क्षमता विकास गरेर आउन सुझाव दिए ।

सञ्चारिका समूह नेपालका अध्यक्ष विमला तुम्खेवाले सञ्चारमाध्यमलाई लैंगिकमैत्री बनाउँदै व्यवसायिक सुरक्षा र सबलीकरणका लागि सम्पादक र व्यवस्थापकसहितको कार्यक्रम आयोजना गरेको बताइन् ।

अलर्ट इन्टरनेशनलका कन्ट्री डाइरेक्टर रविना श्रेष्ठ, संचारिका समूह  नेपालका केन्द्रीय सल्लाहकार तथा सहजकर्ता बबिता बस्नेतले सञ्चारमाध्यमहरुको समाचार रुम, व्यवस्थापन र उत्पादित सामाग्रीलाई लैंगिकमैत्री र समावेशी बनाउन जरुरी भएको बताए । 

प्रशिक्षणमा लुम्बिनी प्रदेशका ८ जिल्लाका २५ जना सम्पादक तथा व्यवस्थापक सहभागी छन् ।