
आइतवार , माघ १४, २०८०
भैरहवा, १४ माघ ।
नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा प्रतिनिधि सभा सदस्य सूर्य थापाले हालै सम्पन्न राष्ट्रियसभाको निर्वाचनमा एमालेले कसरी जित्यो भनेर मानिसहरु आश्चर्यचकित परिरहेको बताएका छन् । उनले यो निर्वाचनमा एमालेको एक सीट पनि आउने सम्भावना नहुँदा पनि पार्टीको उम्मेदवारले जितेको बताए ।
प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार तिलोत्तमा नगरपालिका–२ स्थित शंकरनगर वन विहार तथा अनुसन्धान केन्द्र (वन वाटिका) मा आयोजना गरेको चौतारी मिलन तथा वनभोज कार्यक्रममा सांसद् थापाले यस्तो बताएका हुन् । उनले भने, ‘एमालेको एक सिट आउने सम्भावना थिएन । कोशी प्रदेशमा एमाले उम्मेदवार रुक्मणी कोइरालाले जित्नुभयो, हाम्रो मतभार पुगेर होइन । एमाले शुन्य भयो भनेर दुष्प्रचारको बाढी आउने अवस्था रहेन ।’
उनले भैरहवामा पूर्वराजा ज्ञानेन्द्र शाह आएर मानौ राजतन्त्र आइहाल्यो जस्तो गरेर भाषण गरेपछि आफूले रुपन्देहीबाट फायरिङ सुरु गरेको बताए । उनले भने, ‘पारस शाहलाई छेउमा देखाउ भन्दै मैले रुपन्देहीबाट फायरिङ सुरु गरे । राजतन्त्र पुर्नस्थापना हुन सक्दैन । हामीले ७० वर्ष संघर्ष गरेर राजतन्त्र फालेको हो । गणतन्त्र नेपालीले सानो दुःखले आएको होइन् । ’
नेता थापाले मुलुकमा रहेका असुन्तष्टीलाई समाधान र सम्बोधन गर्दै जानुपर्ने बताए । एउटा व्यवस्थालाई जीवन्त बनाउन पनि असन्तुष्टीहरुलाई सम्बोधन गर्दै जानुपर्ने उनको भनाइ छ ।
उनले सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण रहेकोमा जोड दिए । उनले भने, ‘नयाँ भनेर नेताहरु आएका छन् । नयाँका पखेटा पनि कताकता फट्फटाएका छन् । उनीहरु पनि परीक्षणमा खरो हुनुपर्छ । नयाँहरु के हुन भन्ने देखिदै जानेछ ।’ उनले भ्रममा बहकिने कामबाट समाजलाई जोगाउने काम सञ्चार क्षेत्रको भएको र त्यसमा पनि स्पष्ट ध्येय र लक्ष्य बोकेको प्रेस चौतारी जस्ता संगठनको भूमिका महत्वपूर्ण रहेको बताए ।
त्यस्तै प्रेस चौतारी नेपाल, रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले स्थापना दिवसको अवसर पारेर चौतारी मिलन तथा वनभोज कार्यक्रम गरिएको बताए । उनले स्थापना दिवसकै अवसरमा पारेर प्रेस चौतारी रुपन्देहीले यही माघ २० र २१ गते जिल्लास्तरीय मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।
प्रेस चौतारी रुपन्देहीकी उपाध्यक्ष तथा चौतारी मिलन तथा वनभोज कार्यक्रम संयोजक भगवती पाण्डेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij