
आइतवार , माघ १४, २०८०
भैरहवा, १४ माघ ।
लुम्बिनीको पडरियामा जारी इण्डो–नेपाल क्रिकेट प्रतियोगितामा आइतबार भएको खेलमा सईद ११ ले सन्तकबीर नगरलाई १४ रनले पराजित गरेको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको सईद ११ ले निर्धारित १५ ओभरमध्ये १० दशमलव २ ओभर खेल्दै सम्पूर्ण विकेटको क्षतिमा ६६ रन बनायो । सईद ११ का लागि अख्तरले १२ बलमा २३ रनको योगदान गरे । त्यस्तै हफिजले १२ रन बनाए । हफिजबाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।
बलिङमा सन्तकबीर नगरका पोलार्डले ३ विकेट, सुनिल यादव, सुधिर यादव र अप्पुले २/२ विकेट लिए ।
जवाफमा सन्तकबीर नगर १३ दशमलव ३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ५२ रन बतायो । सन्तकबीर नगरका लागि सुनिल यादवले ३३ रन र नरेन्द्र यादवले १० रनको योगदान गरे ।
सईद ११ का ईक्रमले ४ विकेट लिए । त्यस्तै मजिद र अख्तरले समान २/२ विकेट लिए । प्रतियोगितामा पहिलो पुरस्कार २ लाख रुपैयाँ तथा दोस्रो पुरस्कार १ लाख रुपैया रहेको छ ।
प्रतियोगिताको जनता समाजवादी पार्टी, नेपाल (जसपा) रुपन्देहीको अध्यक्ष सियाराम यादवले उद्घाटन गरे ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि यादवले खेलमार्फत नेपाललाई विश्वमै चिनाउन सकिने बताए । उनले स्थानीयस्तरमा आयोजित यस्ता प्रतियोगिताले खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij