२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

जिल्ला प्रशासनको सेवा प्रवाहबारे जनप्रतिनिधिसँग छलफल

मंगलवार , माघ १६, २०८०

भैरहवा, १६ माघ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले १६ वटै स्थानीय तहसँग नागरिकता, राहादानी, राष्ट्रिय परिचयपत्र सम्बन्धमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

नागरिकता ऐन २०६३ संशोधन भई नागरिकता जारी गर्ने सम्बन्धमा केही नयाँ व्यवस्था गरिएको र स्थानीय तहले गर्नुपर्ने सिफारिस र प्रमाणीकरण सम्बन्धमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना तथा जिल्ला प्रशासन कार्यालय रुपन्देहीको समन्वयमा नगरप्रमुख, उपप्रमुखसहित १९ वटै वडाका वडाध्यक्ष र वडा सचिवका बीचमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

उपमहानगरपालिकाका प्रमुख (मेयर) खेलराज पाण्डेयले भावनामा बगेर भन्दा पनि कानूनलाई टेकेर काम गर्नको लागि वडाअध्यक्ष तथा कर्मचारीहरुलाई निर्देशन दिए । नागरिकता जस्तो संवेदनशील विषयमा व्यवहारिक पक्ष एक पाटो भए पनि कानून अनुसार मात्र सिफारिस गर्नको लागि उनले वडाअध्यक्षहरुलाई निर्देशन दिए ।

बुटवलमा नागरिकता सम्बन्धि जटिल समस्या रहेको मेयर पाण्डेयले बताउँदै कहीकतै सम्पत्ति नभएर डेरामा बस्नेहरु नेपाली नै भए पनि नागरिकताबाट वञ्चित हुने अवस्था रहेको गुनासो गरे ।

cdoo22.jpg

जिल्ला समन्वय समिति, रुपन्देहीका प्रमुख उमाकान्त चपाईंले राजनीतिक पूर्वाग्रह राखेर कुनै पनि नागरिकलाई अनागरिक बनाउन नहुनेमा जोड दिए । कागजात पुगे पनि कतिपय वडाअध्यक्षहरुले पूर्वाग्रही बन्दा नागरिक अनागरिक हुन बाध्य भएको बताउँदै जनप्रतिनिधि बनेर जनताको सेवा गर्नको लागि उनले निर्देशन दिए ।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्थानीय तहबाट हुने नागरिकता सिफारिसमा समस्या देखिन थालेपछि स्थानीय तहमै पुगेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुने सेवा प्रवाहहरु नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र र स्थानीय तहबाट सिफारिस र प्रमाणीकरण सम्बन्धि मौजुदा कानूनी व्यवस्थाबारे जानकारी गराउँदै निकायगत भूमिका स्पष्ट गर्न अभिमूखीकरण कार्यक्रमले भूमिका खेलेको उनले बताए ।

माघ ८ गतेदेखि कोटइीमाई, गैडहवा गाउँपालिका, सिद्धार्थनगर, तिलोत्तमा नगरपालिका र बुटवल उपमहानगरपालिकाको पाँच स्थानमा कार्यक्रम गरी १६ वटै स्थानीय तहका जनप्रतिनिधिलाई समेट्दै अभिमुखीकरण गरिएको रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी रामचन्द्र अर्यालले जानकारी दिए । अन्तरक्रिया कार्यक्रममा वडाअध्यक्षहरुले नागरिकता सिफारिसका विषयमा आएका समस्याहरु राखेका थिए भने प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी धुर्व बहादुर कुँवर र रामचन्द्र अर्यालले जवाफ दिएका थिए ।

cdo11.jpg