
बुधवार , माघ १७, २०८०
काठमाडौं, १७ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले आम सञ्चार क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताएकी छन्।
बुधवार नेपाल टेलिभिजनको ३९ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन्। आम सञ्चार क्षेत्रको पुनः संरचनालाई ध्यानमा राखेर नीतिगत तथा कानूनी व्यवस्थाका बारेमा सुझाव दिन आमसञ्चार क्षेत्र सुधार सुझाव समिति गठन गरी सो समितिको प्रतिवेदनलाई मुख्य आधार बनाइ नेपाल मिडिया काउन्सिल विधेयक र आम सञ्चार विधेयक तयार गरिएको बताइन्।
आम सञ्चार नीति, २०७३ र संघीय संरचना तथा अभ्यासबाट विकसित परिवेशअनुसार प्रदेश र स्थानीय तहलाई पनि बलियो बनाउने गरी आमसञ्चारको क्षेत्रमा नीति र कानून निर्माणमा जोड दिएको पनि मन्त्री शर्माले बताइन्। उनले सरकारी सञ्चारमाध्यमहरु सरकारी सूचना प्रशारण गर्ने एकोहोरो प्रशारक मात्र नभएको भन्दै सबै कार्यलाई जनताको बीचमा लैजाने र जनताको आवाज र गुनासो, अपेक्षासम्मलाई राज्य समक्ष पुर्याउने माध्यम जिकिर गरिन् । उनले नेपाल टेलिभिजनसहित सार्वजनिक प्रशारण क्षेत्रको पुनः संरचना गर्न खोजिरहेको बताइन् ।
नेपाल टेलिभिजन र रेडियोनेपाललाई एकीकरण गरी थप स्वतन्त्र, स्वायत्त र जनउत्तरदायी सार्वजनिक प्रशारणको रुपमा विकास गर्न सार्वजनिक सेवा प्रशारण विधेयकमाथि प्रतिनिधि सभाको विषयगत समितिमा छलफल भइरहेको बताइन् ।
मन्त्री शर्माले सूचना प्रविधिको विकास र आम दर्शकको बदलिँदो शैलीलाई ध्यान दिएर हातहातमै टेलिभिजन हेर्ने व्यवस्था नगर्ने हो भने अब टेलिजिनको पहुँच बिस्तार गर्न कठिन रहेको बताइन् । उनले नेपाल टेलिभिजनले डिजिटलाइजेशनलाई अझै बढाउन आवश्यक रहेको बताइन् । मुलुकको अधिकतम क्षेत्रका जनतासमक्ष सेवा पु¥याउन उपयुक्त र सुलभ प्रविधिको प्रयोगमा पनि ध्यान दिन जरुरी रहेको बताइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij