२०८२, श्रावण २६ गते

Aug 11 2025 | २०८२, श्रावण २६ गते

महिलाले मनोबल उच्च राख्नुपर्छ, निरुत्साहित हुनुपर्दैन : मन्त्री पाण्डेय

बुधवार , माघ १७, २०८०

भैरहवा, १७ माघ ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले महिला निरुत्साहित हुनुपर्ने आवश्यकता नरहेको बताए । उनले महिलाले मनोबल उच्च राखेर अघि बढ्नुपर्नेमा जोड दिए ।

रामग्राम महिला जेसीज, परासीको १३ औं पद हस्तान्तरण समारोह समारोहलाई मंगलबार नवलपरासीको परासीमा सम्बोधन गर्दै मन्त्री पाण्डेयले स्थानीय सरकारमा पनि महिलाका राम्रो उपस्थिति रहेको बताए । उनले पालिकाको प्रमुख, उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षमध्ये एकजना अनिवार्य महिला हुनुपर्ने व्यवस्था रहेको बताए । उनले महिला बिना सृष्टि नै चल्न नसक्ने भन्दै जेसीजले महिलालाई जागरुक बनाउँदै नेतृत्व र व्यक्तित्व विकासमा काम गर्दै आएको बताए।

उनले भने, ‘मनोबल उच्च राख्नुपर्छ । परनिर्भरताबाट बच्नुपर्छ । महिलाले नेतृत्व गरेका ठाउँहरु सफल भएका छन् ।’उनले यही पिढीले परिवर्तन ल्याउन सक्छ भनेर अघि बढ्नुपर्ने बताए । 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले सफलतालाई सन्तुष्टी मान्नुपर्ने बताए । उनले सकारात्मक सोच विश्वका लागि ठूलो चुनौति रहेको बताए । सकारात्मक सोचका साथ अघि बढे निश्चित रुपमा जीवनमा लक्ष्य प्राप्ती गर्न सकिने उनको भनाइ छ ।

आफू पनि डेढ वर्ष जेसीजको सदस्य रहेको र जेसीजबाट धेरै कुरा सिक्ने अवसर पाएको मन्त्री पाण्डेयले बताए । नेपालमा गौतमबुद्ध जन्मस्थल लुम्बिनीसहित धेरै धार्मिक तथा पर्यटकीय स्थलहरु रहेको र ती पर्यटकीय स्थलहरुमा पुगेर पर्यटन प्रवद्र्धनमा सहयोग गर्नुपर्ने बताए ।