२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

अस्थायी प्रहरी चौकी ढेकावरको नवनिर्मित भवन उद्घाटन

शुक्रवार , माघ १९, २०८०

भैरहवा, १९ माघ ।
रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर १ स्थित अस्थायी प्रहरी चौकी ढेकावरको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । बिहीबार कार्यालय ब्यारेक, हिरासत कक्ष, भान्साघरसहित नवनिर्मित भवनको एक कार्यक्रमकाबीच लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) कुबेर कडायत र देवदह नगरपालिकाका प्रमुख ध्रुव प्रसाद खरेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

425362926_671911631685193_3942296742098167965_n.jpg

उक्त कार्यक्रममा डीआईजी कडायतले नवनिर्मित भवनहरूको निरीक्षण तथा अवलोकन समेत गरेका थिए ।

कार्यक्रममा बोल्दै डीआईजी कडायतले अस्थायी प्रहरी चौकी ढेकावरको भवन निर्माण सम्पन्न भइ उद्घाटन भएसँगै नवनिर्मित संरचनाहरूले प्रहरीलाई थप हौसला प्रदान गरेको बताए । उनले प्रहरीलाई उर्जा र मनोबलका साथ व्यवसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरे । ‘नागरिक र प्रहरी हातेमालो गर्दै समाजका विकृति विसंगति अन्त्य गर्न, विभिन्न किसिमका अपराध रोकथाम, नियन्त्रण गर्न तथा दुर्घटना न्यूनीकरण, शाति सुरक्षा प्रदान गरी जनताको जिउधनको सुरक्षा गर्नेमा समेत यस चौकीले महत्वपुर्ण भुमिका खेल्नेछ, ’उनले भने ।

त्यस्तै देवदह नगरपालिकाका प्रमुख (मेयर) ध्रुव प्रसाद खरेलले ढेकावरमा अस्थायी प्रहरी चौकी स्थापना भएको र अब देवदह प्रहरी चौकीलाई ईलाका प्रहरी कार्यालयको रुपमा स्तरोन्नति गर्न आवश्यक रहेकोमा जोड बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले वर्तमान परिवेशमा आधुनिकीकरण, रुपन्देही जिल्लाको बढदो शहरीकरण, अपराधको नयाँ शैली र आयामहरुसँगै देवदह क्षेत्र तीव्र शहरोन्मुख क्षेत्र रहेको बताए । उनले यस क्षेत्रमा शान्ति सुरक्षा प्रदान गरी जनताको जिउधनको सुरक्षा तथा अमनचयन कायम गर्न यो चौकीको महत्वपुर्ण भूमिका रहने विश्वास व्यक्त गरे । देवदह नगरपालिकाको नियमित बजेटबाट करिब १८ लाख रुपैयाँमा पाँचकोठे अस्थायी प्रहरी चौकी निर्माण सम्पन्न भएको एसपी वि.क.ले जानकारी दिए ।

कार्यक्रममा देवदह नगरपालिकाका प्रमुख ध्रुब प्रसाद खरेल, नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी धुर्व बहादुर कुँवर, नेपाल पत्रकार महासघं रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले आ–आफ्ना भनाइ राखेका थिए ।