२०८३, बैशाख १६ गते

Apr 29 2026 | २०८३, बैशाख १६ गते

गठबन्धन सरकारले विकासविरोधी गतिविधि गर्‍यो : विष्णु पौडेल

शुक्रवार , माघ १९, २०८०

  • 1.1K
    Shares
  • 1.1K
    Shares
  • रुपन्देही, १९ माघ । 
    नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णु प्रसाद पौडेलले सरकारको ज्यादती र विकासविरोधी नीति हटाउन युवाहरुले सडकबाट दबाब दिनुपर्ने बताएका छन् । एमाले निकट राष्ट्रिय युवा संंघ नेपाल, रुपन्देही जिल्ला कमिटी प्रचार–प्रसार विभागले तिलोत्तमास्थित जानकीनगरमा आयोजना गरेको स्व. परमानन्द खरेलको स्मृति खुल्ला फुटसल प्रतियोगिताको उद्घाटन गर्दै नेता पौडेलले अहिले देशको परिस्थिति झन जटिल अवस्थामा पुगेको बताए ।

    गठबन्धन सरकारले युवा र जनताका आवश्यकता पूरा गर्नुको सट्टा विकासविरोधी गतिविधि गरेको उनको आरोप थियो ।

    ‘दैनिक रुपमा युवाहरु विदेश पलायन हुने अवस्था सिर्जना भएको छ । सरकारले स्वदेशमा रोजगारीका लागि आवश्यक पर्ने कुनै खालका योजना ल्याउन नसक्दा युवाहरु विदेश पलायन हुने अवस्था आएको हो’,पूर्वउपप्रधान तथा अर्थमन्त्री पौडेलले भने, ‘युवाहरुलाई स्वदेशमै रोजगारीको वातावरण सिर्जना गर्न युवाहरुले सडकबाट सरकारलाई दबाब दिनुपर्छ । युवाहरुले खेलकुद, उद्योग, व्यवसाय, रोजगारीलगायतका क्षेत्रमा आफ्नो सक्षमता देखाउनुपर्छ ।’

    युवा संघ नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही इञ्चार्ज बुद्धि थापाले युवाहरुले राजनीतिमा मात्र नभइ खेलकुदमा पनि समय व्यवस्थापन गर्नुपर्ने बताए ।

    स्व. परमानन्द खरेलका छोरा किरणले खेलको माध्यमबाट युवा संघले बुवाको योगदानको जीवन्त बनाउने काम गरेकोमा आभार व्यक्त गरे ।

    युवा संघ रुपन्देही सचिव दिपेश कंडेलको अध्यक्षता, प्रतियोगिताका संयोजक शंकर पाण्डेको स्वागत तथा ईश्वर पौडलेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।