
आइतवार , माघ २१, २०८०
भैरहवा, २१ माघ ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले जनताको अधिकार जनताकै घरदैलोसम्म पुर्याउनु र जीवनस्तर बदल्न बहुआयामिक भूमिका खेल्नु प्रदेशको जिम्मेवारी भएका बताएका छन् । उनले आजकै दिन लुम्बिनी प्रदेशले प्रदेश सभा बैठक सुरुवात गरी प्रदेशको कार्यभार अगाडि बढाएको दिन भएकाले यो एक महत्वपूर्ण दिनका रुपमा स्थापित भएको उल्लेख गरेका छन् ।
लुम्बिनी प्रदेश स्थापना दिवसको अवसरमा आइतबार शुभकामना दिदै मन्त्री पाण्डेयले भने,‘प्रदेश सरकारले २०७४ माघ २१ गतेलाई लुम्बिनी प्रदेशको स्थापना भएको ऐतिहासिक दिन मानेर प्रदेश सरकार र प्रदेश सभाको स्थापना दिवस दुवैलाई औपचारिक रुपमा संयुक्त आयोजनामा मनाउने निर्णय आफैमा ऐतिहासिक र परिपक्व निर्णय भएकोमा बधाई तथा खुशी व्यक्त गर्दछु ।’
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले लुम्बिनी प्रदेश स्थापना दिवसले सबै प्रदेशवासीमा खुशीयाली, उमंग र रचनात्मक सोचको विकास गरी ‘समृद्ध लुम्बिनी : आत्मनिर्भर प्रदेश’ निर्माणमा सबै अग्रसर हुने प्रेरणा मिलोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij