२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

खबरपात्रोकर्मी गुप्तालाई ‘सिर्जनशील सञ्चारकर्मी सम्मान’

आइतवार , माघ २१, २०८०

रुपन्देही, २१ माघ ।
लुम्बिनी प्रदेश सरकारले खबरपात्रोकर्मी रबिन्द्र प्रताप गुप्तासहित १२ जना पत्रकारलाई सिर्जनशील पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको छ । गुप्ता खबरपात्रो डट कमका समाचार सम्पादक हुन् । 

विगत लामो समयदेखि पत्रकारिताको मूल्य, मान्यता र आचारसंहितालाई पालना गरी निष्पक्ष र उत्तरदायी रूपमा सन्तुलित सूचना तथा विचार प्रवाह गर्दै निस्वार्थ रूपले राष्ट्र, समाज र पत्रकारिता जगतमा योगदान पुर्याएको भन्दै गुप्तालाई ‘सिर्जनशील सञ्चारकर्मी सम्मान’बाट पुरस्कृत गरिएको हो ।

त्यस्तै एक जना पत्रकारलाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको छ ।  दाङका कृष्ण प्रसाद घिमिरे (केपी) लाई अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । 

लुम्बिनी प्रदेश स्थापना दिवसको अवसर पारेर आइतबार देउखुरीमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सभामुख तुलाराम घर्ती, सरकारका प्रवक्ता तथा गृहमन्त्री सन्तोष कुमार पाण्डेय, कृषिमन्त्री भण्डारीलाल अहिर र शहरी विकास मन्त्री कृष्णा केसीले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् ।

सिर्जनशील पत्रकारिता पुरस्कारअन्तर्गत ५० हजार र अग्रज पत्रकारिता पुरस्कारबाट एकलाख रुपैयाँसहित पुरस्कृत गरिएको थियो ।

यस्तै, सिर्जनशील पत्रकारिता पुरस्कारबाट पत्रकार चुमा आचार्य, राम प्रसाद चौहान, तेजेन्द्र केसी, भुपाल थापा, अर्जुन कुमार ओली, जयमान बुढामगर, माधव प्रसाद अर्याल, वीरेन्द्र केसी, सिराजुद्धीन खान र  मधुसुदन भण्डारी पुरस्कृत भएका छन् ।

त्यस्तै, पत्रकारिता, कला संस्कृतिको संरक्षण, अधिकार, महिला सशक्तिकरणको क्षेत्रमा योगदान पुर्याएको भन्दै पत्रकार सन्तोष दहित, विमला चौधरी र भगवती पाण्डेलाई रु. ५० हजारसहित पुरस्कृत गरिएको छ ।