२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बाल्मीकि आश्रम जाने झोलुङ्गे पुल सञ्चालन गर्न एमालेको माग

सोमवार , माघ २२, २०८०

चितवन, २२ माघ ।
नेपालको ऐतिहासिक धार्मिक स्थल बाल्मीकि आश्रमलाई नेपालकै बाटोसँग जोड्ने गरी निर्माण भएको झोलुङ्गे पुल तत्काल सञ्चालन गर्न माग गरिएको छ । निर्माण सम्पन्न भएको लामो समय बितिसक्दासमेत पुल सञ्चालनमा नआएको भन्दै नेकपा (एमाले) माडी नगर कमिटीले पुल सञ्चालन गर्न सरकारसँग माग गरेको हो ।

बाल्मीकि आश्रममा बसेको एमाले माडी नगर कमिटीको विस्तारित बैठकले झोलुङ्गे पुल तत्काल सञ्चालन गर्नुपर्ने, चितवनको भूमिमा चितवनबाटै जान मिल्ने गरी सडक निर्माण गनुपर्नेलगायतका विभिन्न निर्णयहरु गरेको नगर कमिटी अध्यक्ष नारायण प्रसाद अधिकारीले बताए । 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी–६ स्थित त्रिवेणीधाममा नारायणी नदीमाथि निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा नआउँदा सडकमार्ग भएर बाल्मीकि आश्रम पुग्न भारतको बाटो प्रयोग गर्नुपर्ने अथवा नारायणी नदीमाथि डुंगाको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ ।

‘नारायणी नदीमाथि झोलुङ्गे पुल बने पनि झोलुङ्गे पुलबाट आश्रम पुग्ने सडक निर्माण भएको छैन,’ उनले भने, ‘तत्काल त्यो सडक निर्माण गरेर झोलुङ्गे पुलबाट आश्रम पुग्ने अवस्था सृजना गनुपर्ने लगायतका विभिन्न मागहरु गरिएको छ ।’ बाल्मीकि आश्रमसहित नवलपरासीको सुस्ता क्षेत्रमा सीमा अतिक्रमण भएकाले नेपाली भूमि रक्षा गर्नुपर्ने, बाल्मीकि आश्रम रहेको क्षेत्रको १२ बिघा जमिन चितवन राष्ट्रिय निकुञ्ज भन्दा बाहिर पारिएकाले त्यो जमिनको सीमांकन गर्दै आश्रमको विकास गनुपर्ने, लुम्बिनीबाट त्रिवेणी–बाल्मीकि आश्रम हुँदै माडीको गोद्दक पुग्ने गरी महत्वपूर्ण धार्मिक पर्यटकीय मार्ग निर्माण गर्नुपर्ने, वाल्मीकि आश्रममा माडी नगरपालिकाको उपस्थिति हुनुपर्नेलगायतका मागहरु गरिएको उनले बताए ।

एमाले माडी नगर कमिटीका सचिव श्रीप्रसाद दवाडीले एमालेले उठाएको एजेण्डामाथि अन्य राजनीतिक दलसँग सहकार्य गरी साझा मुद्दा बनाएर सरकारलाई दबाब दिइने बताए । ‘बाल्मीकि आश्रममा रहेका केही घरपरिवार तथा आश्रमको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको अवस्था दयनीय छ’ उनले भने, ‘सुरक्षाकर्मीका लागि संरचना र यहाँ आवश्यक पर्ने पूर्वाधार निर्माणमासमेत हामीले सरकारको ध्यानाकर्षण गराउनेछौं ।’ यो मुद्दा जनजीविकासँग जोडिएकाले अन्य राजनीतिक दलको समेत सहमति लिएर अघि बढ्ने तयारी गरिएको दवाडीको भनाइ छ ।

बैठकमा सहभागी माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतोले चितवन राष्ट्रिय निकुञ्जको कानूनी बाधाका कारण बाल्मीकि आश्रमलाई सडक मार्गसँग जोड्न नसकिएको बताइन् । ‘नवलपुर र बाल्मीकि आश्रम जोड्नका लागि पुल सञ्चालनमा आए पनि पुलबाट आश्रम पुग्ने गरी सडक निर्माणमा निकुञ्जको अवरोध छ ’उनले भनिन्, ‘यस विषयमा संघीय सरकारले नै सहजीकरण गर्नुपर्छ ।’ बाल्मीकि आश्रम भूगोलका हिसाबले माडीमा परे पनि माडीबाट यहाँ आएर काम गर्न असहज हुने भन्दै नवलपुरको विनयी त्रिवेणी गाउँपालिकासँग सहकार्य गरेर बाल्मीकि आश्रमको विकासका लागि काम गर्दै आइरहेको उनले बताइन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य यमबहादुर परियारले नेपालमा गणतन्त्र आए पनि नागरिकले यसको प्रत्यक्ष महसुस गर्न नपाएको बताउए । ‘पञ्चायतकालीन निकुञ्ज ऐनका कारण मध्यवर्ती क्षेत्रका बासिन्दाले दुःख पाउँदै आएका छन्’ उनले भने, ‘यो ऐन समयसापेक्ष हुने गरी संशोधन गर्नुपर्छ ।’ वन र वन्यजन्तुको संरक्षणका कुरा गर्दा मानिसको आधारभूत मानवअधिकार समेत उल्लंघन भइरहेको भन्दै यसतर्फ राज्यले विशेष ध्यान दिएर लाग्नुपर्ने परियारको भनाइ छ ।

धार्मिक ग्रन्थअनुसार त्रेता युगमा सीता माताले लवकुशलाई जन्म दिएको, लवकुशले महर्षि बाल्मीकिसँग शिक्षादीक्षा लिएको, बाल्मीकिसहित ८५ हजार ऋषिले हवन गरेको, लवकुशले भगवान श्रीरामको अश्वमेध यज्ञमा छोडिएको घोडा समातेर बाँधेको तथा महर्षि वाल्मीकिले रामायण लेखेको पवित्र भूमि यही स्थानमा पर्दछ । चितवनको माडीमा पर्ने यो भूमिमा पुग्नका लागि गण्डकी प्रदेशको नवलपुर, लुम्बिनी प्रदेशको पश्चिम नवलपरासी हुँदै पुनः नवलपुरको त्रिवेणी पुगेर जानुपर्ने अवस्था छ ।

झोलुङ्गे पुल सञ्चालनमा नआउँदा अहिले आश्रममा जानेका लागि नारायणी नदीमा त्रिवेणीघाटबाट डुंगा तर्नुपर्ने अथवा गण्डक ब्यारेज हुँदै भारतको बाल्मीकि टाइगर रिजर्बको बाटो भएर जानुपर्ने अवस्था छ । त्रिवेणीधाममा निर्माण भएको झोलुङ्गे पुल सञ्चालन भएमा त्रिवेणीधामबाट करिब ४० मिनेटको पैदल यात्रापछि आश्रममा पुग्ने सकिने स्थानीय बताउँछन् ।