२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुटवलमा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु

मंगलवार , माघ २३, २०८०

बुटवल । बुटवल १४ मा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु भएको छ। मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम शुरु भएको हो।

नापजाँचको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच गरी लालपूर्जा वितरण गर्नका लागि सबै प्रकारको सहयोग गर्ने बताए।

उनले नापजाँचमा बुटवल उपमहानगरपालिकाले २५ जना कर्मचारी खटाएको बताउँदै नापजाँच गर्ने कर्मचारी र उपकरणको अभाव हुन नदिने बताए।

उनले अव्यवस्थित बसोबासीको पूर्जावापत लिइने राजश्व रकम धेरै भएकाले प्रधानमन्त्रीलाई जानकारी गराउँदै राजश्व रकम घट्नेमा विश्वास व्यक्त गरे। उनले नापजाँच भएर प्रक्रिया पूरा भएका जग्गाको पूर्जा वितरण गर्नका लागि भूमि आयोगलाई आग्रह गरे। उनले पटकपटक नापजाँच गर्ने र लालपूर्जा वितरण नगर्ने काम भएकाले यसपटक पूर्जा दिने गरी प्रक्रिया पूरा गरेर नापजाँच गर्न आग्रह गरे।

कार्यक्रममा बोल्दै भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले भूमि आयोगले नापजाँच भएका जग्गाको पूर्जा वितरणलाई तीब्र बनाउने विश्वास दिलाएका थिए। वडा नं १४ का अध्यक्ष दधिराम न्यौपानेले नापजाँच भएको जग्गाको पूर्जा वितरणलाई प्राथमिकतामा राख्न भूमि आयोगलाई आग्रह गरे। 

यसअघि बुटवल २ र ११ का अधिकांश पूर्जाविहिन जग्गाको नापजाँच भएर भूमि आयोगमा पठाइएको छ।