
बिहिवार , माघ २५, २०८०
भैरहवा, २५ माघ ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले प्रत्येक धर्मको सम्मान गर्नुपर्ने बताएका छन् । उनले अहिलेको २१ औं शताब्दीमा जातीयताको नभइ मानवताको विकास गर्नुपर्नेमा जोड दिए ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियास्थित जश्ने संगे बुन्याद जामा मस्जिदको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले भने, ‘मदरसामा पढाइन्छ, त्यो शिक्षा हो । पिछडिएको जाती र समुदायलाई शिक्षा र विकासँग जोड्नुपर्छ । तपाईहरु सबै मेरो परिवारको सदस्य हुनुहुन्छ । ’
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले आफ्नो शक्ति र सामथ्र्यले भ्याएसम्म समाजको विकासका निम्ति लागिपरेको बताए । उनले भने, ‘मैले कसैको लागि केही गर्छु भनेर त्यो सहयोगको रुपमा नबुझ्नुहोला । त्यो मेरा दायित्व हो । जनताले मलाई निर्वाचित गरेर सहयोग र सम्मान गरिसक्नुभएको छ । ’ जनताले तिरेको पैसा जनताकै बीचमा खर्च गर्नुपर्ने उनको भनाइ छ ।
‘अब कुनै पनि समुदायलाई निर्वाचनको बेला मात्रै मतदाताको रुपमा नहेरी सम्पूर्ण जनतालाई विकाससँग जोड्नुपर्ने मन्त्री पाण्डेयले बताए । विकास सबैका लागि हुनुपर्छ । शिक्षामा विशेष जोड दिनुपर्छ, ’उनले भने ।
सिद्धार्थनगर नगरपालिका–१ बेलहियामा मस्जिद निर्माण गर्नका लागि रु. १० लाख बजेट लुम्बिनी प्रदेश सरकारबाट स्वीकृत गराइ शिलान्यास कार्यक्रम सम्पन्न भएको मन्त्री पाण्डेयको निजी सचिवालयका जैनुद्दीन देवानले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij