
बिहिवार , माघ २५, २०८०
भैरहवा, २५ माघ । नेपाल प्रहरी श्रीमती संघ भृकुटीमण्डप, काठमाडौंको आयोजना तथा जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको सहकार्यमा बिहीबार भैरहवामा प्रहरी कर्मचारीका लागि एकदिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (युसीएमएस) शिक्षण अस्पताल, भैरहवाको प्राविधिक सहयोगमा जिल्ला प्रहरी कार्यालयमा उक्त शिविर भएको हो । शिविरमा सामान्य चिकित्सा, नाक, कान, घाँटी, दन्तरोग, स्त्रीरोग सम्बन्धि लगायत स्वास्थ्य परीक्षण गरिएको थियो ।
शिविरमा २५१ जनाको स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले बताए ।
शिविरको उद्घाटन गर्दै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले समाजमा विभिन्न चुनौतीको सामना गर्दागर्दा कतिपय अवस्थामा प्रहरी कर्मचारीले आफ्नै स्वास्थ्यप्रति ध्यान पुर्याउन नसक्दा गम्भिर स्वास्थ्य समस्या समेत आउने गरेको बताइन् । उनले स्वास्थ्य शिविरले प्रहरी कर्मचारीलाई आफ्नो स्वास्थ्यप्रति सजग पनि गराउने बताइन् । उनले प्रहरीलाई मौखिक प्रशंसा र कृतज्ञताले मात्र नभइ यस्ता स्वास्थ्य शिविरले मनोबल बढाउने उल्लेख गरिन् ।
रुपन्देहीका प्रहरी जिल्ला अधिकारी गणेश अर्यालले राष्ट्रसेवकको भूमिकामा रहँदा प्रहरी कर्मचारी विभिन्न परिवेशहरुको सामना गर्नुपर्ने एउटा पात्र भएकाले स्वास्थ्य शिविर आफैमा महत्वपूर्ण कार्यक्रम रहेको बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) भरत बहादुर वि.क.ले कार्यस्थलमै आयोजना गरिने यस्ता स्वास्थ्य शिविरले स्वास्थ्यप्रति प्रहरी कर्मचारीलाई सचेत गराउने बताए । उनले सार्वजनिक रुपमा मात्र नभइ मानसिक र भावनात्मक रुपमा पनि प्रहरी कर्मचारी तनाव रहने भएकाले स्वास्थ्य शिविर महत्वपूर्ण कार्यक्रम रहेको बताए ।
युसीएमएसका मेडिकल सुपरीटेण्डेण्ट डा. सदन मुखीले आगामी दिनमा पनि सञ्चालन गरिने शिविरमा प्राविधिक सहयोग गर्न तयार रहेको बताए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले यस्ता स्वास्थ्य शिविरलाई सबै जिल्लामा आयोजना गर्न आग्रह गरे । उनले मानिस स्वस्थ नभए समाज रुपान्तरणमा समेत असर पुग्ने बताए ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीकी प्रहरी निरीक्षक सविता जि.सी.को सञ्चालनमा भएको कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) कुबेर कडायतलगायतको आतिथ्यता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij