२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

बुद्ध सामुदायिक टेलिभिजनको १४ औं वार्षिक साधारणसभा

आइतवार , माघ २८, २०८०

बुटवल, २८ माघ । 
बुद्ध सामुदायिक टेलिभिजन समुदायकै लगानीमा सञ्चालित टेलिभिजन भएकाले समुदायमा नै आधारित भएर पत्रकारिता गर्नको लागि एक कार्यक्रममा बोल्ने वक्ताहरुले सुझाव दिएका छन । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको १४ औं वार्षिक साधारणसभामा बोल्ने वक्ताहरुले आर्थिक संकटको अवस्थामा पनि टेलिभिजनले समुदायसँगै रहेर सामाजिक उत्तरदायित्वबोध गरिरहेको बताएका छन् । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुद्ध सामुदायिक टेलिभिजन गैरनाफामूलक टेलिभिजन भएकाले समुदायमा नै रहेर पत्रकारिता गर्नको लागि आग्रह गरेका छन् । 

कार्यक्रमको प्रमुख अतिथि समेत रहेका पाण्डेयले मिडिया र मिडियाकर्मीको प्रोत्साहनको लागि उपमहामनगरपालिकाले सहयोग र समन्वय गर्दै आएको बताए ।  जनप्रतिनिधिले गरेका कमी–कमोजारीलाई मिडियाले औंल्याउनको लागि आग्रह गर्दै उनले  नियोजित, पूर्वाग्राही भन्दा तथ्यमा रहेर खोज पत्रकारिता गर्नको लागि सुझाव दिए । सत्यतथ्यमा आधारित रहेर खोज पत्रकारिता गर्ने मिडिया र पत्रकारलाई उपमहानगरपालिकाले प्रोत्साहन गर्ने मेयर पाण्डेयको भनाइ छ । 

टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले टेलिभिजन देशैभर प्रसारणमा रहे पनि अहिले लुम्बिनी प्रदेशलाई मुख्य कार्यक्षेत्र बनेर अघि बढ्दा प्रदेशकै उत्कृष्ट टेलिभिजनको रुपमा स्थापित गर्न सफल भएको दावी गरे । कोभिडपछि देखिएको आर्थिक संकटको प्रत्यक्ष प्रभाव सञ्चार क्षेत्रमा पनि देखिएको अवस्थामा टेलिभिजनलाई समुदायसँगै रहेर सामाजिक उत्तरदायित्ववोध गरिरहेको जिकिर गरे । अध्यक्ष ज्ञवालीले समाचार र सूचनालाई प्राथामिकता दिएर अघि बढेको टेलिभिजनले कार्यक्रममा पनि समावेशी सिद्वान्तहरुलाई आधार मानेर विभिन्न भाषाका कार्यक्रम उत्पादन तथा प्रसारण गरेको साधारणसभामा जानकारी दिए ।  

टेलिभिजनका निर्वतमान अध्यक्ष पृथ बहादुर फौदारले बुटवलको ढवाहमा टेलिभिजनको आफ्नै १ कठ्ठा जग्गा रहेकाले भवन निर्माणमा समितिले ध्यान दिनुपर्नेमा जोड दिए । टेलिभिजनका उपाध्यक्ष गोपाल प्रसाद ज्ञवालीले बुद्ध सामुदायिक टेलिभिजन गैरनाफामूलक संस्था र समुदायकै सम्पत्ति भएको बताउँदै  समुदायमै सञ्चार संस्थाको रुपमा विकास गर्नको लागि सबै तयार हुनुपर्नेमा जोड दिए । टेलिभिजनमा फूलटाईम र पार्टटाईम गरी झण्डै ५० जना पत्रकार, कर्मचारी जोडिएको साधारणसभामा उनले जानकारी दिए । 

टेलिभिजनका कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७९–८० मा १ करोड ६ लाख ७८ हजार रुपैयाँको टेलिभिजनले आर्थिक कारोबार गरेकोमा ७१ लाख ५ हजार आम्दानी गर्न सफल भएको बताए ।  

त्यस्तै कार्यक्रममा टेलिभिजनका सल्लाहकार प्रभुराज ज्ञवाली, बुटवलका पूर्व नगरप्रमुख पुनाराम पोखरेल, सल्लाहकार महेश्वर प्रसाद श्रेष्ठ, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखे्रल, टेलिभिजनका सल्लाहकार रिता सेन, शेयर सदस्य रामबहादुर कार्की र कार्यसमिति सदस्य डोलराज बस्यालले बोलेका थिए । 

त्यस्तै बन्द सत्रले अध्यक्ष र कोषाध्यक्षको आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरेको छ । टेलिभिजनको बुटवल उपमहानगरपालिका–१३ ढवाहमा रहेको जग्गाको तत्काल तारजाली लगाएर संरक्षण गर्दै भवन निर्माणको काम अघि बढाउने प्रस्ताव पारित गरेको छ । त्यसै गरी साधारणसभाले सह–सचिव जे.बी. गुरुङलाई विधान अनुसार सचिवमा पदोन्नति गरेको टेलिभिजनका कार्यकारी प्रमुख विक्रम खड्काले जानकारी दिए ।