२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

नेपाली खेलाडीले मुलुकलाई विश्वमै चिनाएका छन् : मन्त्री पाण्डेय

आइतवार , माघ २८, २०८०

भैरहवा, २८ माघ ।
लुम्बिनी प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले नेपाली खेलाडीले मुलुकलाई विश्वमै चिनाएको बताएका छन् । उनले सीमित स्रोतसाधन र कम लगानीका बाबजुद नेपालका खेलाडीले धेरै सफलता प्राप्त गरेको बताए ।

फवार्ड नेपाल इन्टरनेशनल कम्पनी प्रा.लि.द्वारा सञ्चालित फवार्ड खबर डट कम प्रथम वार्षिकोत्सव समारोह, प्रथम मिडिया कप–२०८० तथा विविध साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पाण्डेयले यस्तो बताएका हुन् । उनले लुम्बिनी प्रदेशमा रहेका विभिन्न रंगशालालाई व्यवस्थित गर्दै जाने बताए । 

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेको बताए । उनले भने, ‘पर्यटन र खेल एक–अर्काका परिपूरक हुन् । मिडियाले खेल क्षेत्रलाई पनि प्रोत्साहन गरेको छ । यो प्रशंसनीय छ । ’

उनले खेलकुद प्रतियोगितामा विजेता र उपविजेता दुवैले पुरस्कार पाउने भए पनि निर्वाचनमा भने विजेताले मात्र पद प्राप्त गर्ने बताए । उपविजेताले विजेता बन्न प्रयास गरिरहनुपर्ने उनको भनाइ छ ।