
शुक्रवार , माघ ३०, २०७७
बुटवल, ३० माघ ।
लुम्बिनी प्रदेश सरकारले गतवर्ष वैशाखमा आयोजना गरेको र कोभिड–१९ का कारण स्थगित भएको लगानी सम्मेलन १ वर्षपछि आगामी वैशाख १९ र २० गते हुने भएको छ । प्रदेश सरकारले गतवर्ष वैशाखको ४ र ५ गते बुटवलमा आयोजना गर्ने तयारी गर्दागर्दै कोभिड–१९ को संक्रमणको संत्रास र संघीय सरकारले घोषणा गरेको लकडाउनका कारण स्थगित भएको थियो ।
बिहीबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले गतवर्ष स्थगित भएको लगानी सम्मेलन आगामी वैशाखमा गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले बताए । मन्त्रीपरिषद बैठकपछि निर्णय सार्वजनिक गर्दै पत्रकार सम्मेलनमा मन्त्री चौधरीले प्रदेशको दिगो आर्थिक विकास र समृद्धि हासिल गर्ने उद्देश्यले २०७८ साल वैशाख १९ र २० गते लगानी सम्मेलन आयोजना गरिएको जानकारी दिए । मन्त्री चौधरीले लगानी सम्मेलनको मिति तोकिए पनि स्थान नतोकिएको बताए ।
प्रदेश मन्त्रीपरिषद बैठकले लगानी सम्मेलन अवधारणा पत्र स्वीकृत गर्दै मुख्यमन्त्री एवं आर्थिक मामिला तथा योजना मन्त्री शंकर पोखरेलको संयोजकत्वमा निर्देशक समिति गठन गरेको र लगानी सम्मेलनका लागि आवश्यक तयारी भइरहेको मन्त्री चौधरीले बताए । साथै उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री लिला गिरीको संयोजकत्वमा आवश्यक समन्वय समिति बनाइएको र उक्त समितिको सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहने व्यवस्था गरिएको पनि मन्त्री चौधरीले बताए ।
प्रदेश सरकारको प्रथम आवधिक योजनाले लक्ष लिएको वार्षिक औसत ९ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न १२ खर्ब ७ अर्ब ८० करोड लगानी आवश्यक रहेको आंकलन गरिएको छ । सरकारद्धारा अपेक्षा गरिएको लगानीमध्ये करिब ४ खर्व सरकारी क्षेत्रबाट र करिब ८ खर्व बढि रकम बराबरको लगानी गैरसरकारी क्षेत्रबाट हुने आंकलन गरिएको छ ।
सरकारी क्षेत्रबाट भन्नाले संघ, प्रदेश र स्थानीय सरकारबाट अपेक्षा गरिएको लगानी रहेको र गैरसरकारी क्षेत्रबाट भन्नाले स्वदेशी र विदेशी निजी तथा संस्थागत लगानीलाई बुझाउनेछ । प्रदेश सरकारको महत्वाकांक्षी कार्यक्रमका रुपमा रहेको सो लगानी सम्मेलनले अपेक्षाकृत लगानीको व्यवस्था मिलाउने र प्रदेशको समृद्धिमा टेवा पुर्याउने विश्वास गरिएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij