
मंगलवार , फाल्गुण १, २०८०
तिलोत्तमा, १ फागुन ।
ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित नमस्ते एकडेमीमा सरस्वती पूजाका अवसरमा फागुन २ गते बुधबार (भोली) नयाँ विद्यार्थीहरुको अक्षरारम्भका साथै साहित्यिक महोत्सव हुने भएको छ ।
वरिष्ठ बाल साहित्यकार प्राध्यापक डाक्टर कपिलदेव लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा मोफसलका साहित्यिक व्यक्तित्वहरूले नमस्तेका साहित्य अनुरागी विद्यार्थीहरुसँग छलफल गर्ने कार्यक्रम रहेको विद्यालयका प्राचार्य जिम्मे शेर्पाले बताए । ‘साहित्य समाजको ऐना हो । यसले विद्यार्थीलाई सृजनशील बनाउँछ । यही कुरालाई मध्यनजर गरी यो कार्यक्रम आयोजना गरिएको हो, ’प्राचार्य शेर्पाले भने । कार्यक्रममा मूलतः पुस्तक लेखनका विषयमा विद्यार्थी र साहित्यकार बीचमा छलफल हुने विद्यालयले जनाएको छ ।
साहित्यिक महोत्सवमा नेपाली साहित्यमा युवाको भूमिका, लेखक कसरी बन्ने, आर्ट अफ स्टोरी टेलिङ्गको महत्व र शैली, कविता वाचन कला शीर्षकमा साहित्यकार र विद्यार्थीबीचमा परिचर्चा गरिने विद्यालयका सह–प्राचार्य लिलामणि पाण्डेले जानकारी जानकारी दिए ।
अहिलेका बालबालिका साहित्यप्रति रुची राख्ने भएकाले उनीहरुका कलाको प्रस्तुती पनि यो महोत्सवको विशेष आकर्षण रहने विद्यालयले जनाएको छ । पठन संस्कृतिप्रति पनि नमस्तेका बालबालिका उत्साहित रहेको विद्यालयको भनाइ छ । विद्यालयका अनुसार साना विद्यार्थीले आफूले पढेका पुस्तकहरुको रिभ्यु समेत उक्त महोत्सवमा हुनेछ ।
नमस्ते एकेडेमीकी कक्षा ९ मा अध्ययनरत विद्यार्थी श्रेयसी पन्थीले सृजना गरेको पुस्तक ‘सेप योर लाइफ’ को विमोचन र उक्त पुस्तकको समीक्षा समेत महोत्सवमा हुने संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए । विद्यार्थीका रुची र स्तर अनुसारका पुस्तक प्रदर्शनी हुने उनले जानकारी दिए ।
नेपाली संस्कृति, कला ,साहित्य, भेषभुषा र परम्पराको जगेर्ना गर्ने उद्देश्यले हुने यस कार्यकममा सरस्वती बन्दनासहित विविध नेपाली लोक संस्कृतिको पनि प्रदर्शनी गरिने विद्यालयले जनाएको छ । कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका साहित्यप्रेमी बालबालिकाले आ–आफना बाल प्रतिभाहरु प्रस्तुत गर्न यो महोत्सव उक्त दिन अक्षरारम्भ गर्ने तथा सिट बुकिङ गर्ने विद्यार्थीलाई भर्ना शुल्क छुट गरिएको विद्यालयले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij