
मंगलवार , फाल्गुण १, २०८०
बुटवल, १ फागुन ।
नेवारी खानाका परिकारको स्वादसँगै संस्कार, संस्कृतिको संरक्षण गर्न रुपन्देहीको बुटवलमा नेवाः भोज गरिएको छ । श्री बुटवल नेवा समाज वडा नम्बर १, २ को आयोजनामा सोमबार महाबिर पुस्तकालय परिसरमा बृहत् नेवाः भोज गरिएको हो ।
नयाँ पुस्तामा नेवारी संस्कार संस्कृति बुझाउन कार्यक्रम गरिएको समाजका अध्यक्ष सुभेन्द्रमान श्रेष्ठलले बताए । बुटवल नेवार समुदायको बाहुल्यता रहेको बस्तीका रुपमा रहेको र यहाँ बसोबासीहरुमा आफ्नो संस्कृति चिनाउन कार्यक्रम गरिएको उनको भनाइ छ ।
नेवारी संस्कार अनुसार सहभागीहरु भोज खान भुँइमा बस्ने र सालको पात (लाफा) मा नै चिउरा, लसुन, अदुवा, छोयला, भुटुवा, भ्यातल, प्याखा लगायत १४ परिकारहरु पस्कने व्यवस्था गरिएको उनले बताए । पातको लाफा सिलाउन लगाएर ल्याइएको उनले बताए । प्रत्येक वर्ष पुस महिना र सोमबार पारेर कार्यक्रम गरिएको छ । आफूहरु संस्थागत रुपमा गाठेमंगल, न्यु भिन्तुना लगायत धेरै कार्यक्रमहरु गर्दै आएको उनले बताए ।
कार्यक्रमको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले उद्घाटन गर्दै नेवारहरुको बीचमा संस्कार संस्कृतिबारे जानकारी दिने गरी महत्वपूर्ण कार्यक्रम गरिएको बताए । नेपाल सबै जातजातिहरुको बगैचा भएको भन्दै नेवार त्यसमा पनि उत्कृष्ट संस्कृति भएको जातीमा पर्ने उनले बताए ।
कार्यक्रममा नेवा दय देवु रुपन्देही जिल्लाका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रकाश श्रेष्ठ, समाजका उपाध्यक्ष अरुणा श्रेष्ठ लगायत सहभागी भएका थिए ।
कार्यक्रममा समाजका सचिव विजय शाक्यले कार्यक्रममा सबै जातजातीहरुलाई नेवारी खानाको परिकार चखाइने बताए । नेवारी संस्कार र संस्कृति जर्गेनाका लागि सहभागिहरुले न्यूनतम शुल्क राखिएको उनले बताए । एक वर्षअघि घिन्ताङ घिसिङ कार्यक्रम बुटवलमा गरिएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij