
शुक्रवार , माघ ३०, २०७७
बुटवल, ३० माघ ।
लुम्बिनी प्रदेश सरकारले आगामी फागुन ३ गते आफ्नो स्थापना दिवस मनाउँदै छ । विशेष गरी फागुन २, ३ र ४ गते विभिन्न कार्यक्रमको आयोजना गरी ३ दिनसम्म प्रदेश स्थापना दिवस मनाउने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।
प्रदेश सरकारका अनुसार आगामी फागुन ३ गते आयोजना हुने मुल समारोह प्रदेशको स्थायी राजधानी तोकिएको स्थान दाङ जिल्लाको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालयको प्रांगणमा हुनेछ । मुल समारोहलाई प्रदेश प्रमुख धर्मनाथ यादवको उपस्थितिमा मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रविलाल पन्थले बताए ।
सचिव पन्थका अनुसार मुल समारोहमा प्रदेश सरकारद्धारा यसअघि घोषणा गरिएको पदक तथा विभुषणबाट विभिन्न व्यक्तिहरुलाई सुशोभित गरिने कार्यक्रम छ । समारोहमा प्रदेशभित्रका विभिन्न सांस्कृतिक झांकीहरु प्रस्तुत गर्नुका साथै विभिन्न जिल्लामा सरसफाई, रक्तदान, कविता प्रतियोगिता लगायतका कार्यक्रमहरु पनि संचालन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यस्तै ३ दिनसम्म प्रदेशभरका सबै सरकारी तथा गैरसरकारी कार्यालय संघ–संस्था वित्तीय संस्थाको भवनमा दिपावली गरिने पनि जनाइएको छ । साथै प्रदेशभित्र कुनै एक क्षेत्रमा हिउदे फलफुलका विरुवा रोपिने छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij